विराटनगर । झापाका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध, ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का १८ बर्षीय विशाल लिम्बु र १२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिबार दिउँसो ३ बजे पक्राउ गरेको हो । शनिबार मेचीनगर नगरपालिका–१३ ईलाम रोडस्थित चेकजाँच गर्ने क्रममा मे. ४ प ७७२६ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट प्रहरीले उक्त परिमाणको लागुऔषध बरामद गरेको थियो ।
यस्तै सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–१ का २१ बर्षीय सन्दिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका–७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम ब्राउनसुगर सहित अदुवा पुल छेउबाट नियन्त्रणमा लिएको छ । पुल छेउमा लागुऔषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो ।
यसैगरि ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले माङसेबुङ गाउँपालिका–६ ईलाम घर भई दमक नगरपालिका–१ बस्ने २६ बर्षीय अर्पण राईलाई पनि ४ केजी ५८ ग्राम गाँजासहित पक्राउ गरेको छ । आफ्नै कोठाबाट विभिन्न प्रकृतिका लागुऔषध र गाँजाको कारोबार गर्ने गरेको बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो । नियमानुसार राईको कोठा खानतलासी गर्दा प्रहरीले उक्त परिणामको लागुऔषध गाँजा समेत बरामद गरेको जनाईएको छ ।
पक्राउ परेका सबैमाथि आवश्यक कानुनी कारबाही अघि बढाई सकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।