विराटनगर । लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनले आईतबार जिट्सी मिट एप्पसबाट कोरोना सचेतना अभियान अन्तर्गत अहिलेको अवस्थामा अस्पताल जानू कतिको जोखिम बिषयमा भर्चुवल माध्यमले सचेतना दिएका छन् ।
क्लबका सदस्य लायन सिर्जत दहालले सञ्चालन गरेका सो कार्यक्रममा क्लबका चार्टर्ड प्रेसिडेन्ट लायन डा बालकृष्ण साहको अध्यक्षतामा भएको क्लबका सचिव लायन गजेन्द्र प्रसाद यादवले बताउनु भयो ।
क्लवका निर्देशक द्वय बालरोग विशेषज्ञ डा प्रविण कुमार झा र दन्तरोग विशेषज्ञ डा. लक्ष्मीप्रसाद चापागाईंले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । ५० जनाभन्दा बढीको सहभागी रहेका सो कार्यक्रममा सेभ द चिल्ड्रेन विराटनगरका हरिवोल बजगाई, स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख ज्ञान बहादुर बस्नेत, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का पुर्व गभर्नर तथा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए१ का अर्का पूर्व गभर्नर लिला ढुङ्गेललगायतको आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले आफ्ना धारणा, जिज्ञाशा र सुझाव पनि राखेकाले अन्तर्क्रियात्मक कार्यक्रम भएको सहभागी अनिल शर्माले बताउनु भयो ।
कार्यक्रममा सहकर्ताहरुले यस अवस्थामा अस्पताल जानु कति जोखिम हुन्छ, अस्पताल आउनु अगाडि के के कुरामा बिचार पुर्याउनु आवश्यक छ ? बालबालिकाहरुमा कोरोना संक्रमण हुने सम्भावाना कति छ र उनीहरुलाई कसरी जोगाउने ? जस्ता महत्त्वपूर्ण जानकारी गराउनुसँगै दन्त उपचार कति जोखिमपुर्ण हुन्छ ? दन्त उपचार गर्न आउनु उपयुक्त हो या होइन ? अनि कस्तो अवस्थामा आउने दन्त उपचार गर्न ? जस्ता जानकारी समावेश गरिएका थिए ।
कार्यक्रममा सुत्केरी संक्रमित महिलाले आफ्नो शिशुलाई स्तनपान गराउने की नगराउने र बालबालिकाहरुले अनलाइन कक्षा लिनु परेकाले यसले मानसिक तथा आँखाको ज्योतिमा बालबालिकाहरूमा असर पुग्न जान्छ वा जाँदैन विषयमा पनि डा झाले स्पष्ट पार्नुभएको थियो ।
क्लबले यसै अभियान अन्तर्गत अघिल्लो हप्ता होम आईसोलेसनका विषयमा सचेतना दिएको कार्यक्रम संयोजक सिर्जत दाहालले बताउनु भयो ।