नेकपा स्थायी कमिटि बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण साउन १३ गते बसेर स्थगित भएको बैठक नयाँ सहमतिपछि शुक्रबार बसेको हो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्ताव पेश हुनेछ । गएको असार १० गते सुरु भएको बैठकमा विवाद बढ्दै गएपछि साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गर्दा अर्का अध्यक्षले बहुमत सदस्यको बैठक राखेपछि नेकपा विभाजनको डिलमा पुगेको थियो ।

नेताहरुबीच पटक–पटकको सम्वादपछि विवाद समाधान गर्न कार्यदल गठन गरेर सहमतिको खोजी भएको थियो । साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका महाधिवेशनको तयारी गर्नेगरी स्थायी समिति बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् ।

दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्ने, पार्टीको कमाण्डमा सरकार सञ्चालन गर्ने, चैतमा महाधिवेसन गर्ने, मापदण्डका आधारमा सरकार पुनर्गठन र राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी असोजभित्र सक्ने प्रस्ताव बैठकमा पेश भएको छ । कार्यदलले तयार गरेको प्रतिवेदनका आधारमा अध्यक्षद्वयले बैठकमा प्रस्ताव पेश गरेका हुन् ।

अध्यक्षद्धयको प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी नेतृत्वको छ । यद्यपी बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले पनि प्रतिवेदन र अध्यक्षद्वयको प्रस्तावमा थप स्पष्टताको माग गर्नेछन् ।

शुक्रबार, २६ भदौ, २०७७, बिहानको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर