विराटनगर । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गर्नुभएको छ।
आफ्नो फेसबुक पेजमा मन्त्री भट्टराईले भनेका छन्’ यो सालको जन्मदिन मुस्कानको साथ’ ।
गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक कार्यक्रममा मुस्कान खातुनसँग भेट भएको स्मरण गर्दै भट्टराईले मुस्कानको भाषणमा सहभागीको गडगडाहट तालीले उत्साहित बनाएको र उनलाई सम्मान गर्ने मौका पाएको मन्त्री भट्टराईले जानकारी गराउनुभएको छ ।
मुस्कानको शिक्षाका लागि मन्त्री भट्टराईले एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर हस्तान्तरण गर्नुभएको हो । उहाँले भन्नुभएको छ ‘आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु ।’
केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कानलाई बालुवाटरमा बोलाएर उनको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनुभएको थियो । एसिड पीडित बालिका मुस्कान खातुन्को डाक्टर बन्ने इच्छा रहेको छ ।
एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ । मुस्कान कक्षा ९ मा अध्ययनरत छिन् । मन्त्री भट्टराईको सचिवालयका अनुसार मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको दिन असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आउनुभएको छ ।