काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिबालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सचिबालय बैठकले यसअघि गत माघको सचिबालय बैठकको निर्णय अनुसार गौतमलाई नै राष्ट्रियसभामा लैजाने निश्चित गरेको हो ।
राष्ट्रियसभाको खाली रहेको मनोनित कोटामा गौतमलाई पठाउने निर्णय गत माघको सचिबालय बैठकले गरेको भएपनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गरेपछि निर्णय कार्यान्वयन भएको थिएन । उहाँले अर्थमन्त्री युवराज खतिवडालाई सो पदमा पठाउन चाहेपनि पुनः गौतमले आफू जाने अडान राखेपछि सचिबालयमा सोही अनुसार निर्णय भएको हो ।
प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रियसभामा लगेर पुरै कार्यकाल अर्थमन्त्री बनाउने चाहना राख्नुभएको थियो । तर, ९ सदस्य सचिबालयमा ईश्वर पोखरेलबाहेक अरु सबै गौतमको पक्षमा उभिएपछि बिहीबारको सचिबालय बैठकमा ओलीले नै गौतमलाई राष्ट्रियसभामा लैजाने सुनाउनुभएको थियो ।
अब सचिबालय बैठकको निर्णय अनुसार सरकारले गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । गौतम राष्ट्रियसभामा जाने भएसँगै अर्थमन्त्री युवराज खतिवडा भने २ दिनपछि पदमुक्त हुने निश्चित भएको छ ।