कोरोना जितेकालाई सम्मान गर्ने नेकपाको अभियान

विराटनगर । कतिपय स्थानमा कोरोना भाइरसबाट संक्रमित भएका तथा संक्रमण मुक्त भएकाहरुलाई दुव्र्यबहारको घटना भइरहेको बेला नेकपा विराटनगर महानगर कमिटिले भने कोरोनामुक्त भएकाहरुलाई सम्मान गर्ने अभियान थालनी गरेको छ ।

महानगर कमिटिले बुधबार कोरोनामुक्त भएका विराटनगरका ६ जना सञ्चारकर्मीहरुलाई सम्मानज गर्दै अभियानको थालनी गरेको हो ।

कोरोना संक्रमण भएकाहरुलाई छुवाछुत गर्ने र समाजमा अपमान गर्ने घटना भइहरेकोले त्यसलाई चिर्न अभियान थालिएको नेकपा महानगर अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । कोरोना मुक्त भएकाहरुले प्लाज्मा दान गरि अन्य संक्रमितको उपचारमा पनि सहयोगी हुनसक्ने भएकोले उनीहरुको अपमान हैन सम्मान गर्नुपर्ने सन्देश दिन अभियान थालेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमित उद्घोष दैनिकका पत्रकारहरुलाई कार्यालयमा गएर खादा ओढाई नेकपाले सम्मान गरेको छ । पत्रकारहरुले आफूलाई कोरोना हुँदा त्यसबारे समाजलाई सुसुचित गरि सचेत रहन आह्वान गरेर उदाहरणीय काम गरेकोले पत्रकारबाटै सम्मानको थालनी गरिएको नेकपा महानगर कमिटि सचिब हेम कार्कीले बताउनुभयो । सो अवसरमा संक्रमितहरुलाई इम्युनिटी पावर बढाउने जडिबुटीजन्य चिया पनि हस्तान्तरण गरिएको छ ।

उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीसहित सो दैनिकमा आबद्ध ७ जनालाई कोरोना संक्रमण भएकोमा सबैजना मुक्त भइसकेका छन् । उनीहरुसहित विराटनगरका ९ जना पत्रकार र ३ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण भएको थियो । सबैजना अहिले कोरोनामुक्त भइसकेका छन् ।

नेकपा महानगर कमिटिले यसअघि संक्रमितको घरमा सेनिटाईज गर्ने अभियान सञ्चालन गरेको थियो । महानगरका करिब ३५० जनाको घरमा सेनिटाइज गरेको बताउँदै अध्यक्ष थापाले दोस्रो चरणको अभियानमा सबै कोरोनामुक्त भएका घरमा पुगेर सम्मानको कार्यक्रम राखिएको बताउनुभयो ।

नेकपाको टोलीले पत्रकार शेखर रेग्मी र अप्सरा निरौलालाई पनि घरमै पुगेर सम्मानसति जटिबुटीजन्य चिया हस्तान्तरण गरेको जनाएको छ ।

बुधबार, १७ भदौ, २०७७, दिउँसोको ०२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर