विराटनगरमा भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर । प्रदेश १ मै पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशकदेखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो ।

एक कार्यक्रमकाबीच कोभिड अस्पतालको प्रदेश नं. १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेको विशेष उपस्थितिमा उद्घाटन भएको हो । विश्व नै आक्रान्त बनाएको कोरोना भाइरसबाट संक्रमित बिरामीहरुले अस्पतालको शैया नपाएर घरमै बस्न बाध्य भएको बेला न्यूरोले कोभिड अस्पताल संचालनमा ल्याएको हो । ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको र केही दिनभित्र पीसीआर परीक्षण प्रयोगशालासमेत स्थापना गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताउनु भयो ।

अस्पतालले कोभिडको सम्भावित विरामीहरुको लागि विभिन्न प्याकेजसमेत ल्याएको छ । कोभिड अस्पतालको सञ्चालन साथै अस्पतालले कोभिड सम्बन्धी अन्यहरु सेवाहरु RT PCR TEST LAB, कोभिड हेल्थ चेकअप प्याकेज, Basic Housepital Package, Premium Housepital package पनि सन्चालनमा ल्याएको डाइरेक्टर भट्टराईले बताउनुभयो ।

यता, कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अस्पतालले भेन्टिलेटरसहितको आईसियु बेड संचालनमा आएपछि जनतामा केही राहत हुने बताउनुभयो । यस्तै व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रदेश १ मै प्रतिष्ठित अस्पतालको रुपमा चिनिएको न्यूरोले सेवाग्राहीको चापलाई मध्यनजर गरी निजीस्तरमा खोलिएको कोभिड अस्पतालले कोरोनाको महामारीलाई केहि हदसम्म भए पनि रोक्न सहयोग गर्ने बताउनुभयो ।

यस्तै, संक्रमितले घरमै बस्नु पर्ने बाध्यताको केहि हदसम्म कमी गर्ने तथा समुदायमा संक्रमण थप फैलिन नदिन मद्दत गर्ने तथा संक्रमितको उपचारमा संलग्न अन्य अस्पतालमा हुने बिरामीको चापलाई कम गर्दै विरामीले पाउने उपचार तथा हेरचाहको गुणस्तरमा पनि वृद्धि हुने विश्वास गरिएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराइको भनाइ छ । उहाँले सेवाग्राहीको माग अनुसार नै अस्पताल निर्माण गरिएको बताउनु भयो ।

आइतबार, १४ भदौ, २०७७, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर