विराटनगर । उर्लाबारी नगरपालिकाले भोलिबाट बजार पसल खुला गर्ने भएको छ । भदौ ८ गतेदेखि बन्दाबन्दी गरेको उर्लाबारीले सुरक्षाका मापदण्डमा आधारित भएर बजार, पसल, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन खुला गरेको हो ।
कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम राख्ने, अधिक भिडभाड नगर्ने र भीडहुने कुनै पनि कार्यक्रम र स्थान खुला गर्न नपाइने पनि गरपालिकाले जनाएको छ ।
बन्दाबन्दी (लकडाउन)लाई आंशिकरुपमा खुला गर्दै स्थानीय हाटबजार, सैलुन, ब्युटिपार्लर, फुटसल, होटल रेष्टुरेन्ट,लज, पार्क तथा सभा सम्मेलन भने तत्काल खुला नहुने नगरपालिकाले जनाएको छ । होटल तथा रेष्टुरेन्टहरु साँझ ७ बजेसम्म खुला गर्न सकिने तर होटलमा नभई होम डेलिभरी वा होमप्याकेजिङको सेवा मात्र उपलव्ध गराउनु पर्ने भनिएको छ ।
भोलि सोमबारदेखि नै उर्लाबारी नगर क्षेत्र भित्र जोर बिजोर प्रणाली अन्तरगत सवारी साधन सञ्चालन गर्न सकिने स्थानीय कोरोना विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयमा उल्लेख छ ।