तरकारी बजारको टेण्डर विरुद्ध गाउँपालिका र स्थानीय

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा रहेको एकीकृत फलफुल तथा तरकारी थोक बजार सम्झौता विपरित सञ्चालन गर्न खोजिएको भन्दै स्थानीय तह र सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश नं. १ सरकारले पञ्चपक्षीय २० बुँदे सम्झौता विपरित मनमौजी ढङ्गबाट बजार सञ्चालन गर्न खोजेको भन्दै स्थानीय तह र सरोकारवालाहरुले असन्तुष्टि जनाएका हुन् । थोक बजार सञ्चालन गर्ने प्रक्रियामा स्थानीय तह र सरोकारवाला पक्षलाई उपेक्षा गरिएको आरोप उनीहरुको छ । प्रदेश नं. १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बजार व्यवस्थापन तथा सञ्चालनका लागि गत साउन २६ गते गोरखापत्रमा एकलौटी ढङ्गबाट सूचना प्रकाशित गरि प्रस्ताव आव्हान गरेको सरोकारवाला पक्षको दाबी छ ।

बिहीबार कटहरी गाउँपालिमा पत्रकार सम्मेलन गरी जग्गा संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष देवराज चौधरीले कोरोना महामारीको कारण देखाउँदै व्यापारीहरुसँगको मिलेमतोमा प्रदेश सरकारले उक्त तरकारी बजार एक सहकारी संस्थालाई निःशुल्क रुपमा सञ्चालनका लागि दिएको बताउनुभयो । कटहरी १ मा रहेको जनप्रिय मा.वि. को ४ बिगाहा २ कठ्ठा र तत्कालिन कटहरी गा.वि.स.को १८ कठ्ठा २ धुर गरि ५ बिगाहा २ धुर क्षेत्रफलमा १४ करोडको लगानीमा बजार निर्माण भएको हो ।

बजार निर्माण र सञ्चालन तथा व्यवस्थापनका निम्ति जनप्रिय मा.वि कटहरी, कटहरी गा.वि.स, नेपाल सरकार कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय, विराटनगर महानगरपालिका र एकीकृत कृषि थोक बजार उपभोक्ता समितिबीच सम्झौता भएको थियो । सम्झौता अनुसार तरकारी बजार ‘निर्देशिका र एकीकृत कृषि थोक बजार सञ्चालन कार्यविधि २०६८’ बमोजिम सञ्चालन गरिनुपर्नेमा प्रदेश सरकारले सरोकारवाला पक्षसँगको सल्लाहबिना नै केही व्यापारीहरुसँगको मिलेमतोमा जनताको करको दुरुपयोग गरि बिजूली महशुल तथा भवनलगायतका उपकरणहरुको खर्च सरकारले नै व्यहोर्ने गरि बजार सञ्चालन गर्न दिएको स्थानीयको आरोप छ ।

सम्झौता बमोजिम कृषि बजार सञ्चालनबाट प्राप्त हुने कुल आयको ३० प्रतिशत रकम सम्बन्धित बजारको आवश्यक स्थायी पुर्वाधार तथा बजार विकास र बजारको पहुँच वृद्धिका लागि आवश्यक पुर्वाधार निर्माणमा खर्च गर्नुपर्ने हो । आयको बाँकी ७० प्रतिशतलाई १०० प्रतिशत मानेर बाँडफाँड गरिनुपर्ने सम्झौतामा उल्लेख छ । तर, बजार सञ्चालनका लागि आव्हान गरिएको टेण्डरमा प्रदेश सरकारले स्टलहरुको भाडा तथा दररेट महंगो तोकेर सुरुदेखि नै सञ्चालन प्रक्रिया अवरुद्ध बनाउँदै आएको जनप्रिय मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश जैसानीको भनाई छ ।

सरकारले गाउँपालिकासँगको कुनै समन्वय, सहकार्य र जानकारीबिना काम गर्दै आएको कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामतले बताउनुभयो । प्रदेश सरकारले गाउँपालिकालाई समेत उपेक्षा गर्दै बजार सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै उहाँले त्यो मान्य नहुने चेतावनी दिनुभयो । सरोकारवाला पक्षलाई वाईपास गरिएकोले पुराना सम्झौता खारेज गरि गाँउपालिकाले नै बजार सञ्चालन गर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री के.पी ओलीद्वारा दुघाटन गरिएको एकीकृत फलफुल तथा तरकारी थोक बजार अहिलेसम्म सञ्चालन नहुँदा करोडौंको लगानी खेर गईरहेको छ ।

बिहिबार, ११ भदौ, २०७७, साँझको ०५:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर