विराटनगर । यसपटकको एसईई परिक्षामा विद्यालयले विद्यार्थीको आन्तरिक मुल्याङ्कनको आधारमा परिक्षाफल प्रकाशित गरे । नतिजा हेर्दा विद्यालयले आफ्नो हात जगन्नाथ गर्न पाउंदा कतिसम्म गर्न सक्छन् भन्ने पुष्टि भएको छ । मोरङको मात्र तथ्यांक हेर्ने हो भने भने ४ जिपीए दिने होडबाजी नै चलेको देखिन्छ । विगतमा विराटनगरका एकादुर्इ विद्यालयका थोरै विद्यार्थीले ४ जिपिए ल्याउँथे ।
गत वर्षको तथ्यांक हेर्ने हो भने सामुदायिक र संस्थापक विद्यालयबाट मोरङमा जम्मा ४ जनाले ४ जिपीए ल्याएका थिए । यसवर्ष भने जिल्लामा मात्र ३ सय ३२ जनाले ४ जिपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय विराटनगरको तथ्यांक छ । यसवर्ष मोरङका सामुदायिक विद्यालयबाट मात्र ५७ जनाले ४ जिपीए ल्याएका छन् । एउटै विद्यालयका २४ जनासम्मले ४ जीपिए पाएको तथ्यांक छ । मोरङका प्याब्सनमा आवद्द बिद्यालयहरु मध्ये ८१ वटा विद्यालयले ४ जिपीए ल्याएका छन् । त्यसमा एउटा विद्यालयमा १ देखि २४ जना सम्मले ४ जिपिए पाएका छन् ।
यसरी ४ जिपिएको लहर चलेपछि सामाजिक सन्जालदेखि विभिन्न माध्यमबाट तिब्र बिरोध पनि भएको छ । परिक्षाफलको विषयलाई लिएर हुने बिरोधले बालबालिकालाई मुछ्न नहुने तर्क पनि उसैगरि उठेको छ । नतिजा जे जस्तो आएपनि बिद्यालयले मर्यादा भने कायम गर्न नसकेको सरोकार राख्नेहरूको आरोप छ । विश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण एस ई ई परिक्षा प्रभावित बन्न पुग्यो । पुर्ण तयारी गरेका विद्यार्थीहरु पुर्व सन्ध्यामा परिक्षा रोकिएपछि निराश भए । मुलुकमा बन्दाबन्दीका कारण अहिलेसम्म अवस्था सामान्य बन्न सकेको छैन । कोरोना भाइरस चाँडै नियन्त्रणमा नआउने भएपछि सरकारले बिद्यालयहरूलार्इ नै परिक्षाफल तयार गर्न मापदण्ड बनाइदियो ।
विद्यालयका प्राचार्य, कक्षा शिक्षक र जेष्ठ शिक्षकको समितिले बिद्यालयले लिएका अन्तिम परिक्षाको नतिजालाई आधार बनाएर ग्रेड सिफारिस गर्न लगायो । यसरी नतिजाको डाडुपन्यु नै आफ्नो हातमा आएपछि बिद्यालयले पनि अपत्यारिलो तवरबाट नतिजा सिफारिस गरे । यहांसम्म कि विद्यार्थी संख्या को आधा भन्दा बढिलाइ ४ जिपीए सम्म दिए । जसका कारण बिद्यालय आफैले निर्णय गर्ने हो भने जे गर्छन भन्ने पुष्टि गर्यो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय विराटनगरका प्रमुख दिर्घध्वोज चापागाई भन्नुहुन्छ ‘सबैलाइ सोलोडोलो त नभनौं तर धेरै बिद्यालयले मर्यादा कायम गर्न सकेनन् ।’ उहाँका अनुसार केही राम्रा र ठूला विद्यालयले बिचार पुर्याएपनि अरुले ब्यापार बढाउने नीति लिएको आभाष हुन्छ ।
मोरङका सामुदायिक विद्यालय तर्फ विराटनगरको आदर्श मा. वि. विराटनगरले सवैभन्दा बढि १६ जनालार्इ, सत्यनारायण मा.वि. विराटनगर र राधिका मा.वि. उर्लाबारीले ९/९, शिक्षा विकास मा.वि. दलेलिले ५ र जनता मा.वि. राधानगरले ४ जनालाइ ४ जिपीए दिएका छन् । तथ्यांक हेर्दा १७ वटा सामुदायीक विद्यालयले १ देखि १६ जना सम्मलाइ ४ जिपीए दिएका छन् । ती मध्ये धेरै विद्यालयले यसअघि कहिल्यै ४ जिपीए नल्याएको सरोकारवालाहरू बताउँछन् ।
संस्थागत विद्यालय तर्फ पनि ४२ जना विद्यार्थि मध्ये २४ जनालाइ ४ जिपीए दिएको तथ्यांकले सवैलाई अपत्यारिलो बनाएको छ । संस्थागत विद्यालयतर्फ सवैभन्दा बढी सिद्दार्थ शिशु सदन विराटनगरका २४, कोशी विद्या मन्दिरका २४, राईजिङ नेपाल रतुवामाईका १३, विनायक स्कुल विराटनगरका ९, माउण्ट मकालु रंगेलीका ८, स्टार सेकेण्डरी विराटनगरका ६ जनाले ४ जिपीए पाए । जहाँ २७ देखि ४८ जनासम्म एसईईका विद्यार्थी थिए ।
मोरङका केहि नाम चलेका र विद्यार्थी संख्या बढि भएका विद्यलायले भने होस पुर्याएका छन् । यस अघि राष्ट्रीय तथा क्षेत्रीय शिल्ड बिजेता विराटनगरका एभरेष्ट, विकेभिएम, र सगरमाथा बिद्यालयले भने क्रमश २, ६ र ५ जनालाई मात्र ४ जिपीए दिएर नतिजालाई विश्वासिलो बनाएका छन् । जहाँ क्रमश १५९, २८१ र १७७ जना एस ई ई का विद्यार्थी थिए । यस्तै पहुँच र सामर्थ्य राख्ने अन्य केही संस्थागत विद्यालयले पनि एक र दुई जनालाई मात्र ४ जिपीए दिएर गरिमा राखेको पाईन्छ ।
मोरङमा २०७५मा तीन विद्यालयका ४ जनाले ४ जिपीए ल्याएका थिए । सेन्ट मेरिच विराटनगरले २, बिकेभिएम विराटनगर र वाल्मीकि स्कुल पथरीले १/१ जनाले ल्याएका हुन् । २०७४ मा भने एभरेष्ट स्कुल विराटनगरका २, एभरेष्ट स्कुल पथरी, सुबिजुमोर, सुन्दरहरैचा र पोखरीया मा.वि. विराटनगरका एक/एक जनाले ४ जिपीए ल्याएका थिए ।
नतिजा प्रकाशन विद्यालय आफैले गर्न सक्छ भन्ने वकालत गर्दै आएको प्याब्सनलाई भने यो नतिजाले ठूलो झड्का दिएको छ । प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत भन्न्नुहुन्छ ‘विद्यालयले फेयर रिजल्ट दिन सक्छन भन्दै आएका थियौं, तर नतिजा हेर्दा गलत भयो ।’ उहाँले यस होडमा संस्थागत विद्यालयसँगै सामुदायिक विद्यालय पनि उत्रिएको बताए । यस्तो नतिजाले विश्वास गुमाउँदै जाने भन्दै उहाँले अहिले तिनै विद्यालयहरूलाई पनि नैतिक संकट परेको बताए ।
यता शिक्षक संगठनका नेता धर्मानन्द खरेल यसवर्षको नतिजालाई लिएर विश्वास र अविश्वास भन्न नमिल्ने तर्क गर्छन् । यो कोरोनाको महामारीमा बाधा अड्काउ फुकाएको मात्र हो भन्दै यहि प्रक्रियालाई आत्मसात गर्ने हुँदा आगामी वर्षमा थप ब्यवस्थित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।