विराटनगर । भदौ ६ गते शनिबार मध्यान्ह । मोरङ प्रशासनले विराटनगरसहित मोरङका अन्य ३ स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको पहिलो दिन थियो ।
रिपोर्टिङका लागि विराटनगरको वडा नं. ५ स्थित कोचाखालदेखि मेनरोडको जलजला चौक हुँदै ट्राफिक चोकतिर जाने क्रममा थिए । ठाउँठाउँमा प्रहरीहरुले निषेधाज्ञा कार्यान्वयन गराउन कडाई गरिरहको तथा अनावश्यक हिँडडुल गर्नेलाई सम्झाई बुझाई छाडिरहेको दृश्य सजिलै देख्न सकिन्थ्यो । त्यो दृश्य मैले पनि छुटाउन चाहिन र फोटो तथा भिडियो मार्फत कैद गरे । जलजला चौक र बाटा रोडको आवश्यक तस्बिर र भिडियो कैद गरिसकेपछि बाईक स्टार्ट गरेर ट्राफिक चौकतिर निस्किए । तर मेनरोडस्थित पञ्चमुखी हुनमान मन्दिर अगाडि अचानक ब्रेक लगाउन बाध्य भए ।
कारण थियो एक व्यक्ति बिच सडकमा लडिरहेको । ‘दाई….ए दाई……’ भनेर कयौं पटक बोलाउँदा पनि उनले सुनेनन् । त्यसपछि मैले बाईकको हर्न बजाउने बित्तिकै उनी ब्युझिँए र उठे । यसरी रोडमा किन लडिरहनुभएको भनेर प्रश्न गर्दा मिनेटभित्रै उनले आफ्नो सम्पूर्ण पीडा पोखे । ‘विगत ६ दिनदेखि खाना खाएको छैन । दैनिक ज्याला मजजुरी गरेर पेट पाल्ने मान्छे हुँ । तर अहिले बाहिर निस्कदा प्रहरीले डन्डा हान्छ,’ उनले भने, ‘महानगरपालिकाले राहत बाँडयो रे । मैले पाईन, म जस्ता सयौंले पाएनन् । भोकले भन्दा गाडी मुनि आएर छिटो मरिन्छ कि भनेर यसरी रोडमा लडेको हो ।’
जवाफ सुन्दा जिउ सिरिङ्ग भयो । केही क्षणका लागि भएभरको निषेधाज्ञाको रिपोर्टिङ पनि बिर्से ।
भनिन्छ पत्रकारसँग शब्दको अभाव हुँदैन । तर शनिबार, दिउँसो १२ बजेर ४५ मिनेटदेखि १२ बजेर ४६ मिनेट २२ सकेण्डसम्म मात्र उनको पिडा सुन्दा मैले उनको नाम बाहेक अरु थप केहीपनि सोध्न पाईन । उनले आफ्नो नाम राजु घिमिरे बताए । मैले उनको भिडियो खिचेको थिए । उक्त भिडियो मैले सामाजिक सञ्जाल फेसबुकमा तत्कालै अपलोड गरे ।
उनको लागि खानाको व्यवस्थापन गर्नुपर्छ भनेर मैले रोयल बिरयानी हाउसका सञ्चालक दाई पप्पु अन्सारीलाई सम्पर्क गरे । उहाँले खाना प्याक गरेर दिनुभयो । खाना लिएर रोडमा लडिरहेका घिमिरेलाई दिन पुग्दा उनीसहित अन्य ६ जना पनि खानाको आशमा बसिरहेका रहेछन् । अहिले यसबाटै खाँदै गर्नुस म ५ बजे सबैको लागि खाना लिएर आउँछु भनेर रिर्पोटिङका लागि निस्किएँ । निस्किदै गर्दा घरमा पनि फोन गरेर १० प्याकेट खाना प्याक गरिदिनु भनेर जानकारी गराए ।
रिर्पोटिङको आवश्यक तस्बिर र भिडियो कैद गर्दै पुष्पलाल चौक पुग्नै लाग्दा मोबाईलमा पप्पु दाईको फोन आयो । उहाँले भन्नुभयो, ‘आजदेखि युवा अभियन्ता ओसिम आलम नेतृत्वको हाम्रो समूहले पुनः खाना खुवाउने अभियानको थालनी गर्दैछौं । समय निकाल्न सकियो भने बेलुका भेटौं ।’
रिर्पोटिङको क्रममा म थाकिसकेको थिएँ । समाचार पनि लेख्नुपर्ने थियो । जान पाईन । तर बेलुका साढे ८ बजे घर पुगेर ओसिम आलम दाईलाई फोनमार्फत सम्पर्क गरें । लामो कुरा भयो । फोन उठाउने बित्तिकै उहाँले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘तिमीले फेसबुकमा अपलोड गरेको भिडियो हेरे । साथै कोशी अनलाईनका पत्रकार हरि अधिकारीले पनि खाना खुवाउने अभियान पुनः सञ्चालन हुनुपर्छ भनेर गरेको पोस्टले पनि ध्यानाकर्षण गर्यो । स्वयंमलाई रोक्नै सकिन । तुरुन्तै मोरङका एसपी सन्तोष खड्का र प्रमुख जिल्ला अधिकारीलाई सहजीकरणका लागि सम्पर्क गरे । उहाँहरु पनि सकारात्मक देखिनुभयो ।’
उहाँले थप्नुभयो, ‘त्यसपछि हाम्रो युवाहरुको टिमलाई भेला पारियो । सबै मिलेर किराना पसल खोल्न लगाएर चामल, दाल, नुन, तेल र तरकारी लगायतका आवश्यक खाद्यान्न किन्यौं । त्यसपछि ट्राफिक चौकमा पप्पु अन्सारीले सञ्चालन गरेको रोयल बिरयानी हाउसमा खाना पकाएर प्याक गरेर शनिबार बेलुका १ सय ८ जनालाई खाना खुवायौं । सबैले भरपेट खाना खाए ।’
राज्य संयन्त्र कोरोनाको महामारीले निरिह भईरहँदा युवाहरुको समूह पुनः खाना खुवाउने अभियानमा सक्रिय भएको खबर सुन्न पाउँदा निकै नै खुशी महशुस गरें । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा मात्र अल्झिएको ३ तहकै सरकार अहिलेसम्म गरिब तथा विपन्न वर्गका नागरिकप्रति सकारात्मक हुन नसक्दा ओसिम आलम नेतृत्वको युवा समूह पुनः भोका र प्यासाको व्यवस्थापनमा जुट्दा बन्दाबन्दीको मारमा परेका घिमिरे जस्ता अन्य सयौंले दुईछाक टार्न पाएका छन् ।
यी तिनै युवाहरुको समूह हुन जसले संघीय सरकारबाट चैत्र ११ देखि देशव्यापी रुपमा लकडाउन घोषणा भएको १ हप्ताभित्र दैनिक ज्याला मजदुरी गर्ने तथा सडकको पेटीमा बसेर गुजारा चलाउँदै आएका नागरिकहरुलाई ८० दिनसम्म बिहान र बेलुका निःशुल्क खाना खुवाएका थिए । उनीहरुले विराटनगरस्थित ट्राफिक चौकदेखि १०० मिटर दक्षिणमा पप्पु अन्सारीले सञ्चालन गर्नुभएको रोयल बिरयानी हाउसमा खाना पकाएर सडकपेटीमा बस्ने करिब साढे ४ सय बेसहाराहरुलाई नियमित ११ हप्तासम्म खाना खुवाएका थिए ।
सुरुवातीमा चरणमा टीमभित्रका पेरिस सुवेदी, भुषण पोमु लिम्बू, सन्जु सापकोटा, दिपेन मरिक, पप्पु अन्सारी, भवेश पौडेल, गणेश शाह, चिरञ्जीवी आचार्य, गोपाल देबकोटा र संजय श्रेष्ठ लगायतका युवा सदस्यहरुको व्यक्तिगत सहयोग र पछि आएर सहयोगी दाताहरुको आवश्यक सहयोगमा युवाहरुको सो अभियानले ८० दिनसम्म निरन्तरता पायो ।
सोही समूहले संघीय सरकारबाट घोषित लकडाउन अवधिमा संकटमा परेका करिब २ सय विद्यार्थीलाई खाद्यान्न सहयोग गरे । उनीहरुले स्थायी बसोबास अन्यत्रै भई पठनपाठनको शिलशिलामा विराटनगरमा आएका र डेरा लिई बसेका विद्यार्थीलाई एक जनाको भागमा १२ केजी चामल, १ केजी दाल, १ केजी राजमा, १ लिटर तेल, १ पोका नुन, ५ केजी बन्दा र टमाटर पर्ने गरि सहयोग गरे ।
यस्तै ओसिम आलम नेतृत्वको सोही समूहले लकडाउन अवधिमै विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रम, विराटेश्वर वृद्धा आश्रम र अपाङ्गता समूहका १९ घरपरिवारलाई चामल, दाल, नुन, तेल, तरकारी र बिस्कुटलगायतका आवश्यक खाद्यान्नका सामाग्रीहरु वितरण गरे । सोही अवधिमा इस्लाम धर्मालम्बीहरुको पवित्र महिना रमजानमा पनि ब्रत बस्ने गरिब तथा विपन्न वर्गका ब्रतालुहरुलाई ब्रत खोल्न युवा अभियन्ता पप्पु अन्सारी नेतृत्वको समूहले दैनिक करिब ३ सय परिवारलाई विभिन्न परिकारका खानेकुरा (इफ्तार)को व्यवस्थापन गरे ।
तर, पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएर संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विराटनगर महानगरपालिकाले गत साउन १६ गतेदेखि १४ दिने लकडाउन घोषणा गर्यो । साउन ३० गतेसम्म जारी गरिएको लकडाउन अन्त्य भएसँगै महानगरले विराटनगरमा ७ दिने निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय मोरङमा प्रस्ताव राख्यो । तर महानगरको ७ दिने निषेधाज्ञाको उक्त प्रस्ताव अस्वीकृत भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले भदौ ५ गते शुक्रबार मध्यरातदेखि १० गतेसम्मका लागी मोरङको विराटनगरसहित बुढीगंगा, कटहरी र रङ्गेलीका केही वडाहरुमा ५ दिने निषेधाज्ञा जारी गर्यो । लामो समयको लकडाउनका कारण विचल्लीमा परेका ती गरिब तथा विपन्न वर्गका नागरिक पुनः सङ्कटमा परे ।
तर शनिबार सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको २ वटा स्टाटसले गर्दा हाल आएर युवा अभियन्ता ओसिम आलमको नेतृत्वमा रहेको २२ जना युवाहरुको समुह पुनः सक्रिय भएका छन् । समूहले शनिबार बेलुका अभियानको पहिलो दिन १ सय ८ र अभियानको दोश्रो दिन आईतबार बिहान १ सय ६४ र बेलुका १ सय १६ जनालाई निःशूल्क खाना खुवाएका छन् । निषेधाज्ञा अवधिभरि सो अभियान सञ्चालनमा रहने युवा अभियन्ता आलमको भनाई छ ।
हाल भने यस अभियानमा कञ्चन शाह, विकास महतो, क्रिस्चल आले मगर, दीपा दर्नाल, कर्ण बोखिम, चिरञ्जीवी आचार्य, विशाल शाह र मञ्जु मण्डल लगायतका युवा समूहहरु सक्रिय छन् ।