विराटनगर । विराटनगर महानगरपालिकालाई पिसिआर मेसिन खरिद गर्न भन्दै उद्योग वाणिज्य महासंघ प्रदेश १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सात लाख रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै भाटभटेनी सुपर मार्केटले पनि महानगरपालिकालाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
महानगरको पीसीआर मेसिन किन्ने अभियानमा अग्रसर हुँदै उद्योगी राउत र भाटभटेनीले उक्त रकम सहयोग गरेका हुन् । संघ र प्रदेश सरकारले पिसिआर मेसिन खरिदका लागि चासो नदिएको भन्दै विराटनगर महानगरपालिकाले आफैं उक्त मेसिन खरिद गरिसकेको छ । राउतले ७ लाख रुपैयाँ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिसक्नु भएको छ ।
महानगरपालिकाले नीजि क्षेत्रको समेत सहयोगमा पीसीआर मेशिन खरीद गरी कोशी अस्पतालकै ल्याबमा सञ्चालन गर्ने निर्णय गरेसँगै मेसिन खरीदका लागि सहयोग जुट्न थालेको हो । लकडाउन लगत्तै उद्योगी राउतले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।
यस्तै आज एक कार्यक्रमकाबीच भाटभटेनीका तर्फबाट व्यवस्थापक विनोद भट्टराईले पनि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
‘विराटनगर महानगरपालिका भित्र पनि संक्रमितको संख्या बढ्दै गएको अवस्थामा यस नगरपालिकाले थप स्वाब टेस्टिङको लागि नयाँ पिसिआर मेसिन खरिदको लागि केही आवश्यक रकम सहयोग स्वरुप लिने निर्णय भएको भनि बुझिएकोले त्यसको लागि हाम्रो संस्था भाटभटेनी सुपरमार्केट एण्ड डि.स्टोर प्रा.लि.ले पनि यस महामारीसँग लड्न यस मानव मात्रमा पर्न गएको विपद् घडीमा हामीले पनि संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने पवित्र भावना राखी केही आर्थिक सहयोग गर्ने भनि निर्णय भएको हुँदा यस महानगरपालिकालाई रु.५,००,०००।– (अक्षरेपी पाँच लाख रुपैयाँ मात्र) उपलब्ध गराएका छौं,’ रकम हस्तान्तरण कार्यक्रममा सुपर मार्केटको तर्फबाट दिइएको पत्रमा उल्लेख छ, ‘विगतमा पनि हामीले कोभिडको लागि केन्द्र सरकारलाई १ करोड र प्रत्येक प्रदेशलाई रु.२५,००,०००।– (पच्चिस लाख)को दरले सहयोग गरेको पनि जानकारी गराउँदछौं ।’ पत्रमा भाटभटेनीका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ र व्यवस्थापक विनोद भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।