विराटनगर । मोरङको बुढीगंगामा गतसाता कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको घरमा डेरा बस्ने एमबिबिएस अध्ययनरत विद्यार्थीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्रयाक्ट ट्रेसिङका क्रममा मृतकका श्रीमती र छोरीसहित वडा नम्बर २ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो वडाध्यक्ष रेवतिनारायण चौधरीले जानकारी दिनुभयो ।
विराट मेडिकल कलेज नजिक होटल सञ्चालन गर्दै आएका व्यक्तिमा कोरोना संक्रमण भएपछि उपचारका क्रममा उनको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो । उक्त होटलमा मेडिकल कलेजका कर्मचारी तथा विद्यार्थीहरुले नियमित खाना तथा खाजा खाने गरेका कारण अन्यमा पनि सक्रमणको जोखिम हुन सक्ने भन्दै स्थानीय तहले सम्पर्कमा पुगेकाहरुको पहिचान र परीक्षण गरेको थियो । त्यसै क्रममा थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु अहिले होम आइसोलेसनमा बसिरहेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।