विराटनगर । प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकमध्ये ८ जना प्रदेश १ छन् भने २ जना २ नम्बर प्रदेशको महोत्तरी र सिरहाका हुन् ।
बुधबार मोरङमा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । बुढीगंगाका २ का ५५ वर्षीय पुरुषको विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र विराटनगर ५ का ५७ वर्षीय पुरुषको कोशी कोभिड उपचार केन्द्र विराटनगरमा अपरान्ह मृत्यु भएको हो ।
दम र सुगरका विरामी नेपाल विद्युत प्राधिकरणमा कार्यरत विराटनगर ५ का पुरुषमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढेपछि सोमबार अस्पताल भर्ना भएका उनको उपचारको क्रममाा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो ।
उता ढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान प्रतिष्ठानमा मृत्यु भएको हो । श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
महोत्तरी र सिरहा घर भएका दुई जनाको यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसअघि विराटनगरका ४ पुरूष, रंगेली ८ र रतुवामाइ नगरपालिका ८ का १/१ जना पुरूषको कोरोनाकै कारण मृत्यु भइसकेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।