विराटनगरमा ४७ प्रतिशत संक्रमित, परीक्षण भने ११ प्रतिशत मात्र

संक्रमण एकातिर, परीक्षण अर्कैतिर

विराटनगर । गएको एक सातामा विराटनगर महानगरपालिकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा यो अबधिमा ३९२ जना संक्रमित थपिँदा राजधानी विराटनगरमा त्यसको झण्डै ४७ प्रतिशत संक्रमित भेटिएका हुन् ।

समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा साउन २० गतेसम्म १६० जनामा संक्रमण देखिएकोमा पछिल्लो सातामा त्यो भन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । विराटनगरमा उच्च संख्यामा हरेक दिन संक्रमित थपिएपनि त्यस अनुसार परीक्षण भने हुनसकेको छैन ।

पछिल्लो समय सरकारले परीक्षणको दर बढाएपनि धेरै संक्रमित देखिएको विराटनगरमा भने त्यस अनुसार परीक्षण हुन नसकेको विराटनगर महानगरपालिकाले जनाएको छ । पछिल्लो दिनमा प्रदेशभरी दैनिक १५ सय हाराहारीमा परीक्षण भइरहेको भएपनि धेरे संक्रमित देखिएको विराटनगरमा भने दैनिक २०० भन्दा कमको मात्र परीक्षण भइरहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

साउन २१ गतेदेखि २७ गते मंगलबारसम्म प्रदेशभरी १० हजार २६८ जनाको पीसीआर परीक्षण भएको प्रदेश सरकारको तथ्यांक छ । जसमध्ये विराटनगर महानगरपालिका भित्र एक हजार १६६ जनाकोमात्र परीक्षण भएको छ । जुन कुल परीक्षणको ११ प्रतिशत मात्र हो ।

स्वाब परीक्षण मध्ये ४७ प्रतिशत संक्रमित देखिएको महानगरपालिका भित्र स्वाब संकलन भने ११ प्रतिशतमा सीमित हुँदा कोरोना रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । विराटनगर महानगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि साउन ३० गतेसम्म लकडाउन घोषणा गरेको छ तर सरकारको असहयोगका कारण लकडाउन प्रभावकारी नभएको परीक्षणको दायरासमेत बढ्न नसकेको गुनासो महागनरपालिकाले गरेको छ ।

प्रदेश १ मा मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५० जना विराटनगरका छन् । मंगलबार महानगरका १८० जनाको स्वाब परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो । सोही दिन महानगरबाहेक अन्यत्र एक हजार ५०२ जनाको स्वाब परीक्षण गरीएकोमा ४८ जनामा संक्रमण भेटिएको थियो । यो संख्याको आधारमा पनि कोरोनाको हटस्पट बनेको विराटनगरमा परीक्षण न्युन रहेको अन्यत्र आवश्यकता भन्दा बढी परीक्षण भइरहेको बुझ्न सकिन्छ ।

प्रदेश सरकार र महानगरपालिकाको तथ्यांक अनुसार साउन २६ गते प्रदेश भरी ४२ जनामा संक्रमण देखिँदा महानगरका ९ जना छन् । सो दिन प्रदेशभरी १ हजार ६०१ जनाको स्वाब परीक्षण भएकोमा महानगरका १९० मात्र थिए । यसैगरी २५ गते महानगरका १९४ सहित प्रदेशभरी १ हजार ४६७ जनाको स्वाब परीक्षण गर्दा महानगरका २९ र अन्यत्रका ११ गरी ४० जनामा संक्रमण पुष्टि भएको थियो । साउन २४ गते महानगरका १९४ सहित प्रदेशभरी १ हजार ५३४ जनाको परीक्षण भएकोमा महानगरका ३३ सहित ६१ जनामा कोरोना पुष्टि भयो । साउन २३ गते महानगरका १५३ सहित १ हजार ६९४ जनाको स्वाब परीक्षण गर्दा महानगरका ३० सहित ६७ जनामा कोरोना पुष्टि भयो भने २२ गते महानगरका १०४ सहित एक हजार ५४ को स्वाब परीक्षण गर्दा महानगरका २१ सहित ६६ जनामा कोरोना देखियो । तथ्यांक अनुसार साउन २१ गते महानगरका १६१ सहित प्रदेशमा ६१६ जनाको स्वाब परीक्षण भएकोमा महानगरका १० र अन्यत्रका ८ गरी १८ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना नियन्त्रणको काममा सरकारबाट आवश्यक सहयोग नपाएको भन्दै महानगर प्रमुख भीम पराजुलीले सार्वजनिक रुपमा सामाजिक सञ्जाल मार्फत नै असन्तुष्टि जनाउनुभएको छ । ‘लकडाउनलाई कडा बनाएर परीक्षणको दायरा नबढाउने हो भने महानगरमा कोरोना नियन्त्रण बाहिर जाने अवस्था छ,’ महानगरका जनस्वास्थ्य महाशाखाका प्रमुख कार्कीले भन्नुभयो ‘यो कुरा हामीले पटक पटक प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारलाई भनिरहेका छौं तर सुनुवाई भएको छैन ।’ प्रयोगशालाले दैनिक २०० भन्दा कम स्वाब संकलन गर्न भनेकोले परीक्षणको दायरा बढाउन नसकेको कार्कीको भनाइ छ ।

महानगरपालिकाले कोरोना नियन्त्रणका लागि २१ दिन कफ्र्यु लगाएर दैनिक न्यूनतम ३०० जनाको परीक्षण गर्नुपर्ने सुझाव प्रदेश सरकारलाई दिएको छ । सीमा नाका पूर्ण बन्द गरी नागरिकलाई घरबाट बाहिर निस्कन नदिएर परीक्षण गर्ने र संक्रमितहरुको उचित व्यवस्थापन गर्ने हो भने मात्र कोरोना नियन्त्रण प्रभावकारी बन्न सक्ने सुझाव महानगरको छ ।

मङ्गलबार, २७ साउन, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर