विराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको बेला रोकथाम र नियन्त्रणमा सहयोग गर्न लायन्स क्लब अफ विराटनगर गोग्राहले सार्वजनिक स्थल तथा सामाजिक संघ संस्थाका कार्यालयमा निर्मलीकरण गर्ने अभियान सुरु गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल स्थापनाको १०० वर्ष पुरा भएपछि स्थापना लायन्स क्लब अफ विराटनगर गोग्राहले नेपालमा लायन्स क्लबको स्थापना भएको ५० वर्ष पुरा सन्दर्भमा यो अभियान सञ्चालन गरेको हो । नेपालमा लायन्स क्लव स्थापना भएको आइतबार ५० वर्ष पुरा भएको छ ।
क्लबले सिडिओ कार्यालय र आसपासका सरकारी कार्यालयहरु, तीनपैनी चोकदेखि पुष्पलाल चोकसम्म, बरगाछी चाँदनी चोक हुँदै नहरसम्म, कञ्चनबारीदेखि नोबेल, रंगशाला पछाडि, परिवार नियोजन संघ, उच्च अदालत, जिल्ला अदालत, मालपोत कार्यालय नापी कार्यालय, नेपाल टेलिकम क्षेत्रीय कार्यालय, नेपाल पत्रकार महासंघ मोरङ आदि कार्यालय र सडकको दुबै किनारामा निर्मलीकरण गरेको क्लबका प्रेसिडेन्ट राजन निरौलाले जानकारी दिनुभयो । क्लबले सोमबार हाम्रोमत दैनिकको कार्यालयमा पनि सेनिटाइज गरेको छ ।
पानीमा सोडियम हाइड्रोक्लोराइड ४ प्रतिशत मिलाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारेको घोल स्प्रे मेसिनद्वारा छर्किने गरिन्छ । उक्त घोलले कोरोना भाइरसलाई तीनदेखि चार मिने भित्र नष्ट गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सहरी क्षेत्रमा फैलिएको भाइरस संक्रमण रोकथामका लागि सामाजिक कार्य मार्फत सरकारलाई सहयोग गर्न क्लबले शशिमोहन सिन्हाको संयोजकत्वमा बुधबारबाट सुरु गरेको यो अभियान १५ दिन सञ्चालन गर्ने योजना रहेको क्लबका चार्टड प्रेसिडेन्ट तेजलाल कर्णले जानकारी दिनुभयो ।
क्लबको अभियानलाई सर्वसाधारणले सकारात्मक रुपमा लिएको र धेरैले आफ्नो टोल तथा क्षेत्रमा निर्मलीकरणका लागि अनुरोध गर्ने गरेको प्रेसिडेन्ट निरौलाले बताउनुभयो । क्लबले यस अघि जेष्ठ नागरिक लगायत विभिन्न संघ संस्थामा मास्क तथा सेनिटाइजर आदि वितरण गरेर सहयोग गरेको थियो । एक वर्ष अघि यो क्लव लायनस्टिक इयरमा नेपालकै बेष्ट क्लब अफ मल्टिपल डिस्ट्रिक्ट ३२५ ए वन बन्न सफल भएको थियो ।
Great !!!