विराटनगर । कोभिड १९ को पछिल्लो महामारीको अवस्थाका बारेमा छलफल गर्न प्रदेश १ को कोभिड क्राइसिस मेनेजमेन्ट कमिटी (सिसिएमसी)को बैठक मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरु भएको छ ।
लामो समय काठमाण्डौ बसाई पछि मुख्यमन्त्री शेरधन राई विराटनगर फर्के लगतै सिसिएमसीको बैठक बसेको हो । बैठकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा कसरी संक्रमितहरुको व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
छलफलका लागि सामाजिक विकास मन्त्रालयले पुरानो व्यवस्थापनले मात्र अब संक्रमितहरुको उपचार तथा भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने भन्दै नयाँ ढंगले अघि बढ्नु पर्ने प्रस्ताव लगेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी अस्पतालहरुलाई पनि आइसोलेसन सञ्चालनको अनुमति दिने र होम आइसोलेसनका लागि आवश्यक मापदण्ड तयार गरी सार्वजनिक गर्ने प्रस्ताव पनि अघि बढाउने जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले यस अघि क्वारेन्टाइनहरुको व्यवस्थापन गर्न स्थानीय तहहरुलाई जिम्मा दिएको थियो भने आवश्यक आइसोलेसनको जिम्मा आफुले लिएको थियो । तर यस अवधिमा करिव १६ सय सय्याको आइसोलेसन तयार गर्ने जिम्मा लिँदै दुई चरणमा निर्णय गरेको प्रदेश सरकार त्यसमा असफल देखिएको भन्दै आलोचना भइरहेको छ ।
आजको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ मापदण्ड तयार गर्ने तथा आइसोलेसन क्षमता थप गर्ने विषयमा निर्णय लिने अनुमान गरिएको छ । अहिले प्रदेशमा १५० भन्दा बढी संक्रमित अन्यौलपूर्वक घरमै बसिरहेका छन् ।