विराटनगरका ३२ सहित प्रदेश १ मा ६७ संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकाभित्र ३२ सहित शुक्रबार प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा २४ पुरूष र ८ महिलालाई कोरोना संक्रमण देखिएको छ ।

विराटनगरसहित मोरङमा मात्र ६४ जनामा कोरोना संक्रमण भेटिएको छ । मोरङको रंगेलीमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा २३ पुरूष र ६ महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङको बढुीगंगा गाउँपालिकामा २ पुरूष र कटहरीमा १ महिलामा संक्रमण पुष्टि भएको छ ।

उता सुनसरीको धरान, झापाको मेचीनगरा र बिर्तामोडमा १÷१ मा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।

शुक्रबार प्रदेश १ मा ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।

शुक्रबार प्रदेश १ मा अहिलेसम्मकै धेरै १ हजार ६ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतकहरु सबै मोरङका हुन् । प्रदेश बाहिरका ३ जना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

शुक्रबार, २३ साउन, २०७७, दिउँसोको ०३:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर