कोरोनाबाट मोरङमा चौथो मृत्यु, रंगेलीका पुरुषको अस्पताल नपुग्दै मृत्यु

बुधबार मात्र दुई जनाको मृत्यु, मृत्युपछि आयो संक्रमणको रिपोर्ट

विराटनगर । मोरङका बुधबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । विराटनगर ९ गुद्रीका पुरुष र रंगेली ८ का पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो भने रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल आईनपुग्दै मृत्यु भएको थियो । दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको कोशी अस्पतालले जनाएको छ ।

रंगेली ८ का ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएको भन्दै बुधबार विहान ९ः३० बजे आफन्तले अस्पताल ल्याएका थिए । तर, डाक्टरले उनलाई तत्काल मृत घोषणा गरे । मृत्युपछि कोरोनाको आशंकामा स्वाब संकलन गरिएकोमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको अस्पतालको आइसोलेशनका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले जानकारी दिनुभयो ।

यसअघि विराटनगर ९ का पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा उनको पनि रिपोर्ट पोजेटिभ आएको छ । योसँगै बुधबार मात्र मोरङमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लामै ४ पुगेको छ ।

यसअघि गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । त्यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

# यसअघि रंगेलीका मृतक महिला रहेको अस्पतालले जानकारी दिएकोमा अस्पतालले गलत सूचना दिएको भन्दै उनी पुरुष रहेको जनाएकोले सच्याइएको छ ।

 

बुधबार, २१ साउन, २०७७, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर