विराटनगर । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् ।
महानगरपालिकाले बैंक काउन्टरबाट हुने सेवा बन्द गरी एटिएम प्रवद्र्धन गरी सेवा प्रवाह गर्न आग्रह गरेको थियो । सोही अनुसार बुधबार बैंक तथा वित्तीय संस्थाहरुले कारोबार बन्द गर्न सहमत भएको महानगरपालिकाले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले दुहबी, इटहरी, धरान, बुढीगंगा, विराटनगर तथा रंगेली आदि क्षेत्रमा लकडाउनको अवस्था रहेकोले काम गर्न असहज र जोखिम भएको भन्दै महानगरको प्रस्तावमा सहमत भएकोले आजबाट अर्को सूचना नभएसम्म उनीहरुले कारोवार नगर्ने बताइएको छ ।
बैंक तथा वित्तीय संस्था मात्र नभई सहकारी संस्थाहरुले पनि विराटनगरमा नियमित कारोबार बन्द गरेको जनाएको छ ।
जिल्ला सहकारी संघ मोरङले बुधबार सूचना प्रकाशित गरेर भनेको छ ‘नियमित कारोबारहरु बन्द गरी अर्को सुचना नआउन्जेल सम्मका लागि सम्पर्क व्यक्ति तोकी सदस्यहरुको सम्पर्गमा रहि अत्यावश्यक सहयोग गर्नु र गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै जिल्लाका अन्य पालिकामा रहेका सहकारी संस्थाहरुले आ(आफ्ना पालिका र क्षेत्रको अवस्था एवम् निर्णयका आधारमा कार्य गर्नु हुनेछ ।’
विराटनगरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका ८५ वटा शाखा कार्यालयले सर्वसाधारण सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।