व्यवसायिक उडानका लागि तयारी अवस्थामा विराटनगर विमानस्थल

विराटनगर । भदौ १ गतेदेखि व्यवसायिक उडान सुरु गर्ने सरकारको निर्णय बमोजिम विराटनगर विमानस्थलले आफ्नो सम्पुर्ण तयारी पुरा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशिका बमोजिम आवश्यक मापदण्ड पूरा गरेर भदौ १ देखि व्यावसायिक उडानका विमानस्थलले सम्पूर्ण तयारी पूरा गरेको हो । मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरि विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले गत चैत्र ११ गतेदखि बन्द रहेको व्यावसायिक उडान यही भदौ १ गतेबाट पुनः सुरु हुने र त्यसका लागि विमानस्थल तयारी अवस्थामा रहेको बताउनुभएको हो ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन जारी गरेसँगै नेपालभर हवाई सेवा बन्द छ । दैनिक १८ उडान र अवतरण हुँदै आएको विराटनगर विमानस्थल आकस्मिक कामका लागि बाहेक खुलेको छैन । यस अवधिमा केही चार्टर उडान भएका थिए भने औषधिजन्य वस्तु आपुर्तिका लागि केही उडानहरु विमानस्थलबाट भएका थिए ।

विमानस्थलले भदौ १ गतेबाट आवश्यक सुरक्षा सतर्कता अपनाएर दैनिक ८ वटा विमानस्थल सुचारु गर्ने तयारी गरेको सिटौलाले जानकारी दिनुभयो । विमानस्थलले यात्रुहरुका लागि सेनिटाइजर र मास्क अनिवार्य गरेको छ भने ज्वरो मापन गर्ने, भौतिक दुरी कायम गर्नुपर्ने जस्ता मापदण्ड लागु गर्ने बताइएको छ ।

विमानस्थलमा मास्क नलगाउने तथा १ सय दशमलव ४ डीग्री फरेनहाईटभन्दा बढी शारिरीक तापक्रम भएकाहरुलाई तत्कालै विमानस्थलमा रहेको आईसोलेशन कक्षमा पठाइने तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सहयोगमा उनीहरुको व्यवस्थापन गर्ने बताइएको छ ।

त्यसैगरि विमानस्थलको सेवा सुविधालाई थप सुरक्षित तथा गुणस्तरीय बनाउन विमानस्थलमा स्तरोन्नतिर र विकास निमार्णका कार्यलाई पनि तीव्रता दिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलमा भने हाल ६० हजार लिटर क्षमताको पानी ट्याङकी, दमकलहरुका लागी भुमिगत पानी ट्याङकी, ३ सय ५० मिटर लम्बाईको फुटपाथ, भि.आई.पी पार्किङ एरिया, सर्कुलर ब्याण्ड, सेना र प्रहरीका लागी बेग्लाबेग्लै शौचालय, सार्वजनिक सवारीसाधनका लागि पार्किङ क्षेत्र, चेक पोष्ट, ४ सय मिटर लामो ट्याक्सी वे र कन्ट्रोल टावर लगायतका विकास निमार्णका कार्यहरु भइरहेका बताइएको छ ।

मङ्गलबार, २० साउन, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर