डा. बालकृष्ण साह
घटना १ः कुनै अस्पतालको एकजना स्वास्थ्यकर्मीमा कोरोनाको पीसीआर पोजेटिभ देखियो। अस्पताल निर्मलीकरण गर्न अस्पताल सिल गरियो। त्यहाँका अन्य कर्मचारीमा पनि संक्रमण हुन सक्छ भनेर पीसीआर परीक्षण नहुञ्जेल सम्पूर्ण कर्मचारी कुनै क्वारेन्टाइनमा राखियो। यो खबर थाहा पाएपछि अस्पतालका कुनै कर्मचारीका घरका सदस्यलाई खाद्यान्न पसलेले हजुर पसलमा नआइदिनुस् भनेर रोक लगाइयो।
झट्ट हेर्दा संक्रमण रोक्ने प्रयास मात्रै लाग्ला। तर आफ्नो टोलका घरमा कसैलाई कुनै स्वास्थ्य समस्या हुँदा रातदिन नभनेर अस्पतालमा सहज बनाइदिने सो घरका मुख्य सदस्य अकस्मात् अस्पतालबाटै क्वारेन्टाइनमा भएको अवस्थामा सोही टोलका सदस्यले सहयोगी हुने कल्पना गरेका परिवारलाई खाद्यान्न पसलले समेत रोक लगाएको सुन्दा पीसीआर नेगेटिभ रिपोर्ट लिएर घर आएका अस्पतालका कर्मचारीलाई कस्तो महसुस भयो होला ?
घटना २ः दोस्रो सन्तान पाएको एक महिनापछि सुत्केरी खाना विराटनगरमा बस्दै आएकी सुत्केरी महिला सप्तरीमा रहेको माइती बसिन्। सुत्केरी खान आएकी चेली लकडाउनमा परिन्, उतै बसिन्। पति पनि जागिरे। जागिर भएतिरै बसे। लकडाउन खुलेपछि विराटनगरमा रहेको भाडाघरमा पति आए। छोराछोरी अनि पत्नीसँग केही समय बस्ने गरी आएकाले माइतीमा रहेका परिवारलाई विराटनगर बोलाए। सप्तरी संक्रमित क्षेत्र भएकाले उनका परिवारमा कोरोना हुन सक्छ भनेर उनका परिवार आएको थाहा पाएपछि टोलका अगुवाले उनका घरमा बाहिरबाट ताल्चा लगाए। धन्न फोन घरभित्र भएकाले साथीहरूलाई फोन गरेर बोलाएर ताल्चा फुटाएर बाहिर निस्किन पाए। तर पीसीआर परीक्षण नगरे प्रवेश गर्न नपाउने टोलवासीको धम्की पाए।
यी दुई प्रतिनिधिमूलक विराटनगरका घटना हुन्। सामाजिक सञ्जालमा कोरोना संक्रमणसम्बन्धी सकारात्मक र नकारात्मक दुवैथरीका सन्देश प्रशस्त आउने गर्छन्। समाजका सबै वर्ग आफू कसरी जोगिनुपर्छ भन्नेमै केन्द्रित छन्। सँगसँगै आफ्नो सामाजिक दायित्व पनि त बिर्सन मिल्दैन। यस अवस्थामा आफ्नै टोलछिमेकले मद्दत नगरे उपचार गराइरहेका संक्रमित र होम क्यारेन्टाइनमा रहेका उनका आफन्तको मनोबल कसरी बढ्छ ? स्मरण रहोस्– कोरोनासँग भिड्न आत्मबल पनि ठूलो हतियार साबित भएको छ र यो बढाउने दायित्व पनि हाम्रो हो।
कोरोना अर्थात् कोभिड– १९ ले हामीलाई सचेत मात्र बनाएन स्वास्थ्यका विषयमा धेरै ज्ञान र केही दक्षता पनि दिएको छ। हात धुने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेजस्ता सावधानीका उपायबारेमा हामीले बुझेर अपनाउन पनि थालेका छौं। चीनको हुनानमा डिसेम्बर २०१९ बाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात् कोभिड— १९ को संक्रमणले विगत ६–७ महिनामै संसारका एक करोड ७७ लाखभन्दा बढीलाई संक्रमण गरिसकेर ६ लाख ८२ हजारभन्दा बढीको मृत्युको कारण बनिसकेको छ। हामी यो तथ्यांक सुनेर आत्तिन्छौं तर यही अवधिमा एक करोड ११ लाख ५८ हजार संक्रमित निको भएर घर फर्किसकेको बिर्सन्छौं। आजको मितिमा पनि ५९ लाख १३ हजार कोभिड— १९ को संक्रमित रहेकोमा केवल एक प्रतिशत अर्थात् ६५ हजार मात्र जटिल अवस्थामा हुनु र ९४ प्रतिशत संक्रमित निको भएर घर फर्केको तथ्यांकले देखाएको छ। पछिल्लो समय नेपालमा संक्रमण फैलिँदो क्रममा छ। हालसम्म नेपालमा १९ हजार सात सय ७१ मा कोरोना संक्रमित भइसकेका छन् र यो संख्या दिनानुदिन बढ्दै छ। कोरोना जितेर १४,३९९ घर फर्किसकेका छन् भने ५६ जनाको मृत्यु भएको छ। नेपालमा अहिले पनि ५,३१६ मा संक्रमित छन् र यसमध्ये केही गम्भीर अवस्थामा छन्।
घन्टैपिच्छेको समाचार अपडेट अनि विशेषगरी कोरोनाका कारण मृत्यु हुनेको संख्यालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरिँदा सर्वसाधारणमा सचेतनाभन्दा पनि त्रासमय वातावरण उत्पन्न भएको छ। सामाजिक सञ्जालमा पनि यस्ता स्टाटस मात्र एकोहोरो आइरहँदा ‘कोरोनाले मर्नु कहिले–कहिले, तर डर र भोकले मर्नु अहिले’ जस्तो भएको छ। एकातिर कोरोनाको कहर अर्कातिर खस्किएको व्यापार–व्यवसाय। यसका कारणले मानसिक, व्यावहारिक र आर्थिक समस्या थपिँदै गएका छन्। यस अवस्थामा एकअर्काको सहयोग र सामाजिक एकताको ठूलो महत्व हुन्छ। तर कोरोना फैलिने डरले सामाजिक एकतामा पनि आक्रमण गरेकाले संयमता अपनाउनुपर्ने आवश्यकता छ।
लक्षण नभएका पनि संक्रमित हुन सक्ने र हावाको माध्यमले सर्ने भएकाले कोरोनाको संक्रमण फैलिने गति तीव्र छ। मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुपर्ने प्रमुख कारण यिनै हुन्। तर यही संक्रमण रोक्ने प्रयास अनि संक्रमणको सम्भावना रहेका व्यक्तिलाई अलग्याउने हँुदा कतै एम्बुलेन्समा बिमारी मरेका छन्, कतै अस्पताल सिल भएका छन्, कतै स्वास्थ्यकर्मी थुनिएका छन् त कतै निकालिएका छन्। सुन्दा सामान्य लागे पनि आफूले भोग्नुपर्दा निकै असहज परिस्थिति उत्पन्न हुन्छ र जीवन कष्टकर हुने गरेको छ। एकातिर दैनिक उपभोग्य समानको अभाव अर्कातिर मानसिक तनाव। त्यसमा अझ सामाजिक बहिष्कार र अवहेलना। विराटनगर जेसिसका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता नवलप्रसाद उपाध्याय आफ्नो फेसबुकमा लेख्छन्, ‘कोरोना पोजिटिभसँग नजानी सम्पर्क हुनुभएका आदरणीय व्यक्तित्वहरू यथाशीघ्र स्थानीय सरकारलाई जानकारी गराई परीक्षण कार्यमा सहयोग गरौं।’ तर अहिलेको अवस्थामा सामाजिक बहिष्कार र समाजबाट तिरस्कृत हुने डरले कसले यो कदम उठाउला ?
अब कोराना स्वास्थ्यका मात्र समस्या रहेनः स्वास्थ्यसँगै यसले आर्थिक र उत्पादन क्षेत्र प्रभावित गरेको थियो नै। अब सामाजिक क्षेत्रमै गम्भीर हुन सक्छ। दीर्घकालीन असर गर्ने देखिएको छ। पीडितका मनमा गहिरो घाउ लाग्दै छ। ‘हिजोसम्म जुन समाजका लागि आफ्नो काम छाडेर सहयोग गरें, आज त्यही समाजले मलाई मेरै घरमा थुन्यो वा त्यही समाजले मलाई मेरो उपभोग्य समान खरिद गर्न जान दिएनन्। मेरा बालबालिका दूध र बिस्कुटका लागि पनि तड्पिनुपर्यो’ भन्दा घाउ कति गहिरो भयो अनुमान गर्न सकिन्छ। तर यो बढ्दै गएको दूरी घटाउन नजिक पनि त जान सकिँदैन। संक्रमित, संक्रमितका परिवार तथा संक्रमणका जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइका कर्मचारीलाई अँगालो हालेर उनीहरूका आँसु पुछ्न पनि सकिँदैन।
कुनै पनि समस्यामा रहेका व्यक्तिलाई हामी सहयोग गर्ने चाहना राख्छौं। बाढीपीडित होस् या क्यान्सरपीडित हामीले सक्ने सहयोग गर्न खोज्छौं। तर कोभिड संक्रमणको शंका मात्र भए पनि हामी अपराधी ठान्छौं। अनि संक्रमित वा संक्रमणका जोखिममा रहेका जोकोहीलाई प्रहरीको निगरानीमा राख्न खोज्छौं। के यो न्यायोचित हो ? कोरोनाका संक्रमित र विशेषगरी संक्रमितका परिवारलाई उपचारभन्दा पनि मानवीय व्यवहार र सहानुभूति चाहिएको छ। उनीहरू आफ्ना आवश्यकताका लागि बजार जान मिल्दैन, अरूको सोझै सम्पर्कमा जान सक्दैनन्। तर छरछिमेकी, साथीभाइ यस्तै परेका बेलाका लागि होइन र रु हामीसँग फोन छ अनि प्रत्यक्षरूपमा पनि सामाजिक दूरी कायम गर्दै आशाका दुई शब्द अनि आवश्यकताबारेमा छलफल र उपलब्धता गराउन नसकिने त पक्कै होइन होला। तर हामी यसबारे सोच्न पनि चाहँदैनौं। अब संक्रमण कसलाई हुन्छ भन्न सक्ने अवस्था छैन।
बजार, आफ्नै कार्यालय अनि साथीभाइ र आफन्तबाट पनि संक्रमण हुन सक्ने भएकाले एकातिर सजग हुनुपर्ने छ भने अर्कातिर संक्रमित र संक्रमितका परिवारको पनि आत्मबल बढाउँदै सहयोगीको भूमिका देखाउन जरुरी छ। रोग लागोस् भन्ने चाहना कसैको हुँदैन र रोग लाग्नु अपराध होइन भन्ने भावनाको विकास हुन जरुरी छ।
साभार: अन्नपूर्ण पोष्ट