विराटनगर । औषधी व्यवस्था विभागको नियम र निर्देशन पालना नगर्ने विराटनगरका एक दर्जन औषधी फार्मेशी निलम्बनमा परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ र २ का १२ वटा फार्मेशीलाई निलम्बन गरेको हो ।
निलम्बनमा पर्ने मोरङको ५ वटा फार्मेशी छन् । विराटनगर– ९ न्यूरो हस्पिटल अगाडि विकास मण्डलले सञ्चालन गरेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ लाई औषधी व्यवस्था विभागले निलम्बन गरेको छ । हाम्रो फ्रेन्डसिप फार्मेशीले मानव स्वास्थ्यमाथी खेलवाड गर्दै म्याद सकिएको औषधी विक्री वितरण गरेको आरोपमा मण्डललाई पक्राउ परेका थिए ।
पक्राउ परेका मण्डल केही दिन अगाडि अदालतबाट ३ लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् । औषधी व्यवस्था विभाग विराटनगरका अनुसार मण्डलले १५ प्रकारका विभिन्न औषधी म्याद सकिएको विक्री वितरण गर्दै आएको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।
यस्तै मोरङको मिक्लाजुङ्ग गाउँपालिकाको मधुमल्लामा रहेको राय मेडिकल हल एक महिना निलम्बनमा परेको छ । उक्त मेडिकल हलले म्याद गुज्रेकेको र डाक्टरको पुर्जाबिना बेच्न नपाइने बिभिन्न प्रकारका औषधीहरु विक्री वितरण गरेको पाइएको थियो । चैत ११ गते शिल गरिएको औषधी पसललाई जेठ २२ गतेसम्म निलम्बन गरेको विभागले जनाएको हो ।
यस्तै निलम्बनमा पर्ने विराटनगरको सविन फार्मेशी, सुनिधा फार्मेशी, बि केयर फार्मेशी, रहेको छ । यस्तै सप्तरीको सिद्ध मेडिकल हल, सुनसरीको धरान उपमहानगरपालिका १८ स्थित महाबीर मेडिकल हल, सिराहको गोलबजारको प्रतियुष मेडिसिन, मोरङको रंगेली नगरपालिकाको इशान्त फार्मेशी र सिराहको एहसान आयुर्बेदिक मेडिकल निलम्बनमा परेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिनुभयो । निलम्बनमा परेका औषधी पसलहरू एक सातादेखि एक महिनाभन्दा बन्द गरिएका छन् ।
औषधी व्यवस्था विभागको नियम र निर्देशन पालना नगर्ने पसल कारवाहीको दायरमा ल्याइएको हो । कारवाहीमा पर्ने अधिकांश औषधी पसलहरू म्याद सकिएको औषधी विक्री वितरण गर्ने, पसल दर्ता नभएको, औषधी व्यवस्था विभागमा दर्ता नभएको, औषधीको संचय गरि विक्री वितरण गर्ने पसलहरू छन् । गत आर्थिक वर्षमा ४ सय ९२ वटा पसल अनुगमन गरेर मापदण्ड पुरा नगरेका ३६ वटा औषधी पसल बन्द गरिएको औषधी व्यवस्था विभाग विराटनगरको अभिलेखमा उल्लेख छ ।
औषधी व्यवस्था विभागले गरेको निर्णयलाई लत्याउँदै पैसाको लोभमा फार्मेसी सञ्चालकहरूले औषधीको चरम दुरूपयोग गर्दै अनुचित प्रयोग गर्ने ७ वटा मुद्दा अदालतमा दायर गरेको छ । चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बेगर लागुऔषध प्रयोगकर्ताहरूलाई पनि औषधी विक्री वितरण गर्ने उनीहरु विरुद्ध अदालतमा अभियोग दर्ता गरिएको हो ।
गत आर्थिक वर्षमा १३ वटा औषधी पसललाई सचेत गराएको र ६० वटा पसललाई तारिखमा राखेर विभागले छोडेको छ । यस्तै सो वर्ष ३ सय ४५ वटा औषधी पसल औषधी व्यवस्था विभागमा दर्ता भएको छ । गत आर्थिक वर्षमा ३५ लाख ७३ हजार ४ सय ६३ रुपैयाँ राजस्व संकलन गरेको विभागले जानकारी दिएको छ ।