प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्छ : भट्टराई

विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने बताउनुभएको छ ।

भट्टराईले शुक्रबार बिहान ट्वीट गर्दै प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै उनलाई महाभियोग लगाएर हटाउनुपर्ने बताउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ । खारेज भइसकेको कानुनको प्रयोग गरेर हालको कानुनी व्यवस्थाको मनोमानी व्याख्या गरेको भन्दै न्यायाधीशद्वयकै ‘कार्यक्षमता’ मै प्रश्न उठेको बेला भट्टराईले महाअभियोग लगाउनुपर्नेमा जोड दिनुभएको हो ।

नेता भट्टराईले देश संकटतिर जाँदै गरेको उल्लेख गर्दै समाधानका लागि ५ वटा उपाय सुझाउनुभएको छ । उहाँले तत्काल संसद् अधिवेशन बोलाउन माग गर्नुभएको छ । त्यस्तै केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्नुपर्ने, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्नेमा उहाँको जोड छ ।

शुक्रबार, ०९ साउन, २०७७, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर