विराटनगर । विराटनगर भन्सार कार्यालयको राजश्व सङ्कलन ५७.१३ प्रतिशतमा सिमित भएको छ ।
आर्थिक बर्ष २०७६÷२०७७ मा ४९ अर्ब ६४ करोड ६० लाख राजश्व सङ्कलनको लक्ष्य निर्धारण गरेको कार्यालयले मात्र २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्र सङ्कलन गर्न सकेको छ ।
कार्यालयले भन्सार महशुलबाट २१ अर्ब २० करोड १० लाख राजश्व सङ्कलनको लक्ष्य राखेकोमा मात्र १२ अर्ब ४ करोड २९ लाख १५ हजार सङ्कलन गर्न सकेको छ । त्यस्तै मुल्य अभिवृद्धि करतर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजारको निर्धारित लक्ष्य पुरा गर्न नसकेर कार्यालयले मात्र १४ अर्ब ६७ करोड ७४ लाख ४७ हजार सङ्कलन गर्न सफल भएको छ । अन्तःशुल्कतर्फ २ अर्ब ५० करोड ९४ लाख २४ हजार राजश्व सङकलनको लक्ष्य राखेको विराटनगर भन्सारले भने मात्र १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपिँया राजश्व असुली गर्न सकेको छ ।
कोरोना भाईरस रोकथाम तथा न्युनीकरणका लागी गत चैत्र ११ गतेदेखि सरकारले आह्वान गरेको लकडाउनका कारण राजश्व सङ्कलन असन्तोषजनक रहेको विराटनगर भन्सार कार्यालयकी सुचना अधिकृत सुनिता पौड्यालले बताउनुभयो । उहाँले लकडाउन अवधिको बैशाख महिनामा कार्यालयले सबैभन्दा न्युन २६.७० प्रतिशत अर्थात् १ अर्ब ६ करोड ३२ लाख ५१ हजार रुपैयाँ भन्सार राजश्व सङ्कलन गरेको थियो । वैशाखमा कार्यालयले ३ अर्ब ९८ करोड १६ लाख ३३ हजार रुपैयाँ राजश्व असुलीे गर्ने राखेको थियो ।
लकडाउन भएदेखि नै विराटनगर भन्सार कार्यालयको राजश्व संकलन क्रमशः ओरालो लाग्दै गएको देखिन्छ । तथ्याङ्क अनुसार लकडाउन अवधिको चैत, बैशाख, जेठ र असारमा कार्यालयले क्रमशः ३७.८२, २६.७०, ५०.६३ र ५६.५६ प्रतिशत राजश्व सङ्कलन गरेको छ । जेठ महिनादेखि तुलनात्मक रुपमा राजश्व सङ्कलन बढेपनि सन्तोषजनक अवस्थामा भने पुग्न नसकेको सुचना अधिकृत पौड्यालको भनाई छ ।