नेउवा महासंघको अधिवेशन

प्रदेश १ बाट वरिष्ठ उपाध्यक्ष र सात केन्द्रीय सदस्य पदका आकांक्षी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय अधिवेशन नजिकिएसँगै प्रदेश १ मा पनि चुनावी माहौल बन्न थालेको छ । महासंघमा प्रतिनित्व गर्ने चाहना राखेका आकांक्षीहरु यतिबेला भेटघाट र समूह भेलाहरुमा व्यस्त छन् ।

साउन २५ गतेदेखि सुरु हुने महासंघको राष्ट्रिय अधिवेशनमा प्रदेश १ का उद्योगी किशोर प्रधान वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने तयारीमा हुनुहुन्छ ।  वर्तमान कार्यसमितिमा महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्ष रहनुभएका प्रधानले अर्का आकांक्षी एशोशिएट्स उपाध्यक्ष चन्द्र ढकालसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । दुवैले आगामी अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने सार्वजनिक घोषणा गरिसकेका छन् । अधिवेशनको तयारी भइरहेकै बेला महासंघमा दुई प्यानल स्पष्ट देखा परेको र केही दिन भित्रै दुवैले आ–आफ्नो प्यानल घोषणा गरेर अघि बढ्ने तयारी गरेका छन् ।

महासंघको केन्द्रीय समितिमा प्रदेश १ बाट वरिष्ठ उपाध्यक्षसहित सात जना उद्योगी व्यवसायीहरु उमेद्वार बन्ने आकांक्षासहित भेटघाट र लबिङ्गमा लागेका छन् । प्रदेश १ बाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुने गरी विधानमा कोटा निर्धारण गरिएको छ । उक्त पदमा विराटनगरका उद्योगी राजेन्द्र राउतले उमेदवारी दिने तयारी गर्नुभएको छ । राउतसँग प्रतिष्पर्धामा को आउने हुन् भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । उक्त पदमा प्रधान समूहबाट कसैलाई अगाडि सार्ने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रदेश १ बाट अन्य छ जना आकांक्षीहरुले केन्द्रीय सदस्य पदमा उमेदवारी दिने तयारी गर्दै दादैडधुप थालेका छन् । खुला केन्द्रीय सदस्यका लागि ताप्लेजुङका तारा घिमिरे, झापाका उमेश डालमियाँ र सुनसरी धरानका अशोक ताम्राकारले उमेदवारी दिने तयारी गर्नुभएको छ । यसैगरी धनकुटाका उमेश घिमिरे, उदयपुरका गजेन्द्र भगत र खोटाङका राजु दयालु पनि खुला केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने तयारीमा हुनुहुन्छ । आफुलाई उमेदवार बनाउने सुनिश्चितता खोज्दै उहाँहरु वरिष्ठ उपाध्यक्ष पदका दावेदारहरुसँगको भेटघाटमा सक्रिय रहेको बताइएको छ ।

प्रदेश १ बाट खुला केन्द्रीय सदस्य पदका आकांक्षीहरु गजेन्द्र भगत, उमेश घिमिरे र तरा घिमिरे भावि अध्यक्ष शेखर गोल्छा निकटका प्रतिनिधिहरु भएको बताइएको छ । यस अर्थमा भावि अध्यक्ष गोल्छाको समर्थन जुन समूहमा रहन्छ प्रदेश १ बाट उनीहरुले बढी प्रभाव पार्ने सम्भावना उतिकै छ ।

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकोले अध्यक्ष साझा हुनेछन् । वरिष्ठ उपाध्यक्ष पददेखि तलमात्र निर्वाचन हुने भएकोले वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

व्यवसायी माझ राम्रो छवी र सम्वन्ध कायम भएका कारण चन्द्र ढकालको पक्षमा देशभरको माहौल सकारात्मक रहेको बताइएको छ । प्रदेश १ मा समेत ढकालको राम्रो प्रभाव रहेको बताइएको छ । ढकाललाई नेपाल उद्योग वााणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका राजेन्द्र राउतको सहयोग छ । राउत प्रदेश कोटाबाट केन्द्रीय सदस्य पदमा चुनाव लढ्दै हुनुहुन्छ । उक्त समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनीधि तिवारी प्रतिष्पर्धामा रहनुभएको छ । तिवारीसँग प्रधान समूहका दिनेश श्रेष्ठले उमेदवारी दिने करिव निश्चित भएको छ ।

यता वरिष्ठ उपाध्यक्ष पदका दावेदार किशोर प्रधानलाई वर्तमान अध्यक्ष भवानी राणा, प्रदेश १ का अध्यक्ष नगेन्द्र खड्का, भाष्करराज कर्णिकारको समेत समर्थन रहेको  बताइएको छ । भावी अध्यक्ष शेखर गोल्छाले पनि प्रधान समूहलाई सहयोग गर्ने दावी गरिएको छ ।

मङ्गलबार, ३० असार, २०७७, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर