विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा गएको पहिरोको वितण्डा खासै मिडियामा सार्वजनिक भएको छैन । स्थानीय धनपूर्ण राईले आफ्नो फेसबुक वालमा हालेको पहिरोको तस्बिर दर्दनाक छ ।
पहिरोस्थलमा सुरुदेखि नै उद्धारमा खटिएका र सरकारी निकायलाई खबर गर्ने धनपूर्णका अनुसार हाल पहिरोबाट पीडितहरु आलु र पुरानो मकै खाएर बसिरहेका छन् । सरकारीस्तरबाट कुनै ठूलो राहत पुगेको छैन । उद्धारमा सुरक्षाकर्मीहरु गएको भएपनि बाटोको असुविधा र अत्याधिक वर्षाका कारण बोकेर लैजान सजिलो छैन ।
आज विस्थापितलाई राहतसहित हेलिकप्टरमा घटनास्थल हिंडेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको टोली त्यहाँ मौसमका कारण जान नसकेर तुम्लिङटारमा ल्याण्ड भएको थियो ।
त्यहाँका विस्थापितहरु अहिले पहिरोले बगाएको बस्तीभन्दा माथि १ घण्टा उकालो चढ्दा चित्रे भन्ने स्थानमा शेर्पा गाउँ छ । त्यहाँ ९ घर शेर्पाको छ । जसमध्ये ३ घर खाली छ । ‘त्यही खाली ३ घरमा विस्थापित ८६ घर परिवारका ३ सय ३९ जनालाई मिलाएर राखेका छौं,’ धनपूर्णले भने, ‘शेर्पाको घरमा कटेरा, ग्वाली, गोठ गरेर ११÷१२ वटा टहरा छन् ।’
विस्थापितहरुले तत्काललाई खाद्यान्नको रुपमा वर्षे आलु उसिनेर र शेर्पा गाउँमा रहेको पुरानो मकै भुटेर खाएर बसेका उनको भनाइ छ ।
प्रदेश सरकारले भने भोलि पुनः राहत लिएर हेलिकप्टरमार्फत सो ठाउँ जाने बताएको छ । सो ठाउँमा अबिरल वर्षाको कारण आइतबार बिहान गएको पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका छन् । ५ जना घाइते भएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री राईले संचारकर्मीलाई विराटनगर विमानस्थलमा प्रतिक्रिया दिँदै पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्ने र विस्थापितहरुलाई तत्काल राहत दिन कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
‘त्यहाँका बाढीपहिरो पीडितलाई उपर्युक्त स्थानमा सुरक्षित हिसावले सार्ने र राहतको काममा हामीले कुनै कसर बाँकी राखेका छैनौं,’ उहाँले भन्नुभयो, ‘प्रदेशका अन्य क्षेत्रमा पनि जोखिममा परेका सर्वसाधरलाई राहत तथा उद्धारका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।’
पहिलो पटक प्रदेश सरकारले सो ठाउँमा १५ क्वीन्टल चालम, २ क्वीन्टल दाल, १ सय लिटर तेल, ५० किलो नुन, २० वटा टेन्ट, १० कार्टुन चाउचाउ र १० काटुन विस्कुट तथा म्याटे«स राहतस्वरुप पठाउने तयारी गरेको छ । मुख्यमन्त्री राईसहितको टोली भने घटनास्थल पुग्न नपाएपछि तुम्लिङटारबाटै आजै फर्किएको छ ।