विराटनगर । केहीदिन यता जारी अविरल बर्षाका कारण बाढीको जोखिम बढेको भन्दै प्रदेश नं. १ का सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसद उपेन्द्रप्रसाद घिमिरे, केदार कार्की, सुयरमाराज राई, पुर्णप्रसाद राई याम्फु, राजकुमार ओझा, बसन्तीदेवी यादव र कुलप्रसाद साम्बा लगायतका सांसदहरुले बाढीको जोखिम न्युनीकरणका लागी सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद उपेन्द्रप्रसाद घिमिरेले बुढी, चिसाङ, डाँस, सोल्टी, तुर्के, मोरङे, सोल्टी, तेली र खदम लगायतका खोलाबाट निकालिएको १ सय हेक्टर भन्दा बढी सिचाँई हुने १७ वटा कुलोमा क्षती पुगेको तथा लेटाङको १ र २ नम्बर वार्डको बस्तीमा चिसाङ खोलाको पानी पसेकाले तत्काल उद्दार गर्न सरकारसमक्ष माग राख्नुभयो ।
सांसद सुयरमाराज राईले चुरे क्षेत्रसँग जोडिएका खोलाहरुमा भईरहेको अवैध उत्खननका कारण मानव बस्ती जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद केदार कार्कीले बुढी खोलामा तटबन्ध निर्माणका लागी गत बर्ष नै २ करोड बजेट विनियोजन भएपनि काम हुन नसक्दा अहिले त्यस क्षेत्रका ४ वटा बस्ती डुबानमा परेको जानकारी गराउनुभयो ।
त्यस्तै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले अविरल वर्षाका कारण प्राकृतिक जोखिम बढ्ने अनुमान गर्दै प्रदेश सरकारले आवश्यक पुर्व तयारी गरेको बताउनुभयो । उहाँले पहिरोका कारण क्षति पुगेको स्थानहरुमा पर्याप्त नेपाली सेनाको उद्दार टोली र अन्य सुरक्षाकर्मी पठाइएको तथा उद्दार सामाग्री र खाद्यान्न सामाग्री आजै पठाईने जानकारी गराउनुभयो ।
त्यस्तै आजको बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति सिता थेवे जवेगुले प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरि प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर ६ जना सांसदहरुले संशोधन दर्ता गराउनुभएको थियो । उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईएको छ ।
प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक भने असार २९ गते सोमबार दिनको १ बजे बस्ने गरि बोलाईएको छ ।