काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
एससीसीको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो ।
एमसीसीको बारेमा पक्ष र विपक्षमा बहस चलिरहेको बेला जसपा (तत्कालिन राजपा र समाजवादी पार्टी) मौन रहँदै आएको थियो । पार्टी एकीकरण भएपछि जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत यधारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गराउन नहुने सुझाव सरकारलाई दिएको छ ।
एमसीसी सम्झौताका शर्तहरु गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित शर्तहरु हेर्दा यो भित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न नहुने संगठनका इन्चार्ज आङकाजी शेर्पाले बताए ।
एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच सुझाव दिएको छ ।
जसपा नेपालको विभिन्न २१ वटा देशमा रहेको पार्टी संगठनको यो प्रवास संगठन हो । यो संगठनले एमसीसीका बारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले अध्ययन गरेको प्रतिवेदन सरकारलाई मेलमार्फत पठाइएको इन्चार्ज शेर्पाले बताए । नेपालले जुनसुकै देशसँग सहयोग, अनुदान सक्ने भएपनि ाष्ट्रियता र स्वधीनतामा आँच आउने खालको शर्तहरु राखेर सहयोग लिन र सहकार्य गर्न नसकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
कुनै पनि राष्ट्रघात हुन जाने शर्तहरु राखेर कसैले सहकार्य गर्ने र सहयोग दिने प्रस्ताव गर्दछ भने त्यसलाई स्वीकार नगर्ने पनि उल्लेख गरिएको छ ।
– रातोपाटीबाट साभार