विराटनगर । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी घोषणा गरेपछि मानिसहरुको दैनिकी फेरियो । गर्दै आएको काम धेरैले छोडे । सुरुका दुई महिना अधिकांश मानिसहरु घरमै बसे । मौज्दात हुनेले त्यहीबाट खर्च गर्दै बाँचे नहुनेले उधारो र सापटीबाट चलाए । बन्दाबन्दीले सबै क्षेत्र प्रभावित बन्यो ।
बन्दाबन्दीको अवधि विभिन्न व्यक्ति, संस्था वा निकायहरुले फरक फरक तरिकाबाट झेले । कतिपयले त्यस अवधिलाई सामान्य तरिकाले व्यतित गरेभने कतिले कामयावी र उत्पादक बनाए ।
प्रदेश नम्बर १ प्रदेशसभाका उपसभामुख सरस्वती पोखरलेले बन्दाबन्दीको समयलाई महत्वपूर्ण अवसरको रुपमा उपयोग गर्नुभयो । उहाँले यस अवधिमा विगतका राजनीतिक आन्दोलनमा योगदान र बलिदान गरेका सहिद तथा बेपत्ताका परिवारहरुसँग घरघरमै पुगेर भेटघाट गर्नुभयो । उहाँहरुको दुःखसुख बुझ्ने प्रयत्न गर्नुभयो ।
यस अवधिमा उपसभामुख पोखरेलले ७० परिवारसँग भेटघाट गर्नुभयो । सुनसरी जिल्लाका पूर्व कुशाह, इनरुवा, प्रकाशपुर, चकरघट्टी, बराहक्षेत्र, बिष्णुपादुका, धरान, इटहरी आदि ठाउँमा पुगेर सहिद र बेपत्ता परिवारलाई घरघरमै भेट्नुभयो ।
१० वर्षे जनयुद्धमा सहिद भएका सहिद परिवार, मधेश आन्दोलनका सहिद परिवार, बेपत्ता परिवार र कतिपय घाइतेहरुसँग उपसभामुख पोखरेलले भेट गर्दा उहाँहरुले आफ्ना दुःख र चाहनाहरु सुनाउनुभएको थियो ।
भेटघाटका क्रममा उपसभामुखले सहिद परिवार र उनका सन्तानहरुको जीवनयापनमा समस्या भइरहेको र सहिदको छोराछोरीको पठनपाठनमा कठिनाई परेको गुनासो सबैभन्दा धेरै सुन्नु परेको थियो ।
सहिद पत्नीहरुले भोग्नु परेको पीडा र सहिद तथा बेपत्ताका वृद्ध मातापिताले खेप्नु परेको समस्या पनि बुझ्ने मौका मिलेको उपसभामुख पोखरेलले बताउनुभयो । ‘सहिदका छोराछोरी र वृद्ध बाबुआमाको अहिले पनि जटिल समस्यासँग जुधिरहेका रहेछन्,’ उपसभामुख पोखरेलले भन्नुभयो ‘ आफ्नो सन्तानले राष्ट्रका लागि बलिदान दिएपनि सरकारले उनीहरुका परिवारको दुःख बुझ्न नसकेको गुनासो उहाँहरुले व्यक्त गर्नुभएको छ ।’
स्थानीय सरकारबाट समस्या पर्दा सहयोग हुन्छ भन्ने अपेक्षा भएपनि उनीहरुले नसम्झेको गुनासो अधिकांशले गरेका थिए । उपसभामुख भेट्न जाँदा उहाँहरु खुसि हुनुभएको थियो र बेलाबेलामा भेट्न आउन आग्रह गरेका थिए ।
जनयुद्धमा एकमात्र छोरा उत्तम लिम्बुलाई गुमाउनुभएका सुनसरी बराहक्षेत्र नगरपालिका महेन्द्रनगरका मच्छिन्द्र लिम्बु अहिले वृद्ध भइसक्नुभएको छ । छोरीहरु विवाह गरेर आ–आफ्नो घर गएका छन् । मच्छिन्द्र बिरामी पर्नुभएको छ । कमाएर खुवाउने कोही छैन । दुई जना वृद्धवृद्धाको साहरा गुमेको छ । न छोराले योगदान गरेको पार्टीले उहाँहरुलाई सहयोग गरेको छ न छोराले आफुलाई बलिदान दिएर ल्याएको व्यवस्थाको लाभ लिएर विभिन्न पदमा पुगेका नेताहरुले नै उहाँलाई सम्झिएको छ । उपसभामुख पोखरेल त्यहाँ पुग्दा सहिद पिता मच्छिन्द्रले यस्तै गुनासो गर्नुभयो र भन्नुभयो ‘हामीले गरेको त्याग र बलिदानी खेर जान नदिनु, देश र जनताका लागि झगडा गर्नु तर पद र प्रतिष्ठाका लागि लडेर हामीलाई निराश नबनाउनु ।’ उहाँले बेलाबेलामा भेट्न आए सुखदुख साट्ने पाउने आशा व्यक्त गर्नुभयो ।
उपसभामुख पोखरेलका अनुसार सहिद पत्नीहरुले समाजमा झेल्नु परेको विभेद र अन्य समस्याहरु पनि जटिल अवस्थामा रहेको आफुले पाएको भन्दै त्यसलाई समाधान गर्न सरकारसँग छलफल गर्ने बताउनुभएको छ । उहाँले कतिपय घाइतेहरुसँग पनि भेटघाट गर्नुभएको थियो । केही खाद्यान्न वस्तुसहित भेटघाटमा जानुभएका उपसभामुख पोखरेलले यो क्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको थियो ।