विराटनगर । केसलिया खोलाको बाढी विराटनगर–१२ बखरीको सिमराइ बस्तीमा पसेपछि ३० घरपरिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै आएको बाढी बस्ती पसेपछि आइतबार बिहानै बखरीको सिमराही बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् ।
बाढी र डुबानका कारण विस्थापित भएका सिमराइ बस्तीका ३० घर परिवारका करिब १ सय ५० जनालाई उद्धार गरी विराटनगर–१२ बखरी स्कूलमा सुरक्षित राखिएको वडाअध्यक्ष हिरालाल कामले जानकारी दिनुभयो । विस्थापित भई बखरी स्कूलमा बसेका परिवारहरूलाई विराटनगर महानगरपालिका र वडा कार्यालयले राहत वितरण गर्ने वडाअध्यक्ष कामतले बताउनु भयो । अहिले तत्कालको लागि भूजा र चिउरा वितरण गरिएको छ ।
विराटनगरको ब्रमापुरा पनि २/३ घर डुवानमा परेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी बेदप्रसाद गौतमलले बताउनु भयो । गौतमका अनुसार केसलिया खोलामा आएको बाढीका कारण वडा नम्बर १२ र वडा नम्बर ६ का केही घर डुबानमा परेको छ । खोला छेउमा रहेकाहरूलाई प्रहरीले सर्तक रहन आग्रह गरेको छ । केसलियाको बाढी विराटनगर–६ ब्रम्हपुराबाट बस्तीमा प्रवेश गरेको हो ।