जुलुस, भेला र धर्ना गर्ने विरुद्ध नेकपा मोरङको कडा चेतावनी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको विवादको पक्ष विपक्षमा भेला र प्रदर्शन नगर्न नेकपा मोरङले कडा निर्देशन दिएको छ ।

पार्टी कार्यालयमा भेला भएर नेतृत्वको आलोचना गर्ने र धर्ना दिनेमाथि कारवाही गर्नुपर्ने भन्दै आइतबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका केही नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा भेला भए । उनीहरुले पार्टीका जिल्ला नेताहरुलाई पार्टी एकतालाई बलियो बनाउने गरी भूमिका निर्वाह गर्न आग्रह गर्दै पार्टी एकताको विपक्षमा क्रियाकलाप गर्नेलाई छुट नदिन माग गरेका थिए ।

केही दिन अघि स्वतन्त्र युवा समूहको नाममा विराटनगरमा जुलुस प्रदर्शन गर्दै नेकपा अध्यक्ष प्रचण्डको विरोध र प्रधानमन्त्रीको समर्थनमा नाराबाजी भएको थियो । त्यस जुलुसको संयोजन पार्टीका जिल्ला सदस्यहरुले नै गरेको र त्यो कार्यक्रममा पार्टीका विभिन्न हैशियत भएका कार्यकर्ताहरुपनि सहभागी भएपछि शनिबार एउटा पक्षले उक्त घटनाको विरोध गर्दै पार्टी कार्यालयमा नेताहरुको ध्यानाकर्षण गराउँदै धर्नासमेत दिएका थिए ।

उक्त धर्नापछि सडकमा प्रदर्शनका अगुवाई गरेका युवा विद्यार्थीका केही नेता कार्यधर्नाहरु आइतबार पार्टी कार्यालयमा उपस्थित भएर अराजक गतिविधि रोक्न माग गरेको हो ।

त्यस क्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले स्थायी समितिको बैठक जारी रहेको र त्यहाँ भएको छलफलको विषयलाई लिएर पक्ष विपक्षमा उफ्रिनु जरुरी नभएको बताउनुभयो । उहाँले सम्पूर्ण पार्टी सदस्यहरुलाई यस प्रकारको काममा संलग्न नहुन र पार्टी एकतालाई आघात पुग्ने गरी कुनै क्रियाकलाप नगर्न चेतावनी दिनुभयो । अध्यक्ष पोखरेलले कुनै हालतमा पार्टी विभाजन नहुने भन्दै पार्टी संकटमा परेको बेलामा घ्यु र मट्टितेल नभई पानी हाल्ने काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुलाई म भएमात्र संगठन चल्छ भन्ने कुनै भ्रम नपाल्न चेतावनी दिनुभयो । ‘जंगलमा बाघ नभएपनि, भालु नभएपनि जङ्गल रहन्छ त्यसैले म नभए कोही रहदैन भन्ने भ्रम तपाईहरुले नपाल्नुहोला’, अध्यक्ष पोखरेलले स्पष्ट शव्दमा चेतावनी दिनुभयो ।

नेकपा मोरङका सचिव गणेश उप्रेतीले पार्टी पद्धति उल्लंघन र नेतृत्वको अपमान गरेर एकतालाई बलियो बनाउन नसकिने बताउनुभयो । उहाँले देशभक्त प्रगतिशिल र परिवर्तनकारी युवाहरु पार्टी विभाजनको पक्षमा हुनै नसक्ने भएकोले पार्टी एकताको पक्षमा उभिनु पर्नेमा जोड दिनुभयो । उहाँले पार्टी नीति विपरित पक्ष विपक्षमा जुलुस र धर्ना दिने कार्य रोक्न अन्यथा पार्टीले कारवाही गर्ने चेतावनी दिनुभयो । उहाँले पार्टी एकताको पक्षमा पहल गर्नुपर्छ भन्ने आम युवाहरुको पक्षमा आफुपनि रहेको भन्दै पार्टीको निर्देशन पालना गर्न आग्रह गर्नुभएको थियो ।

नेकपा विराटनगर महानगरका अध्यक्ष सागर थापाले पार्टी केन्द्रको विवादलाई लिएर पक्ष विपक्षमा वा स्वतन्त्रको नाममा कुनैपनि गतिविधि गर्ने आफु मातहतका कमिटीका सदस्यहरुमाथि कारवाही हुने चेतावनी दिनुभयो ।

राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय सचिव पर्शुराम बस्नेतले पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले विदेशीको चाहना पुरा गर्ने कुनै काम नेताहरुबाट नहुने तर्फ जिल्ला पार्टी नेतृत्वले केन्द्रसमक्ष खवरदारी गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रविन थापा, मोरङका संयोजक नविन पौडेल, अनेरास्ववियुका केन्द्रीय सदस्य भाष्कर खनाल आदिले पाार्टी एकताको पक्षमा आफुहरु प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

आइतबार, २१ असार, २०७७, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर