सडक भासिएपछि निर्माण कम्पनीले भन्यो ‘मर्मत थालिसक्यौं’

विराटनगर । विराटनगर १० स्थित ‘शाही मार्ग’ को सडक ठेकेदार कम्पनीले गुणस्तरहीन बनाएकै कारण सोमबार रोकिराखेको टिपर पिच सडकमै भासिएको पाइएको छ । क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत निर्माण भएको शाही मार्गको पिच गरिएको सडकमा रोकेको टिपर सोमबार भासिएको थियो ।

एक वर्ष अगाडी कालोपत्रे गरिएको सो सडकमा टिपरको पछाडीको भागको चक्का ३ फिट गहिरोमा भासिएको थियो । क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गतको सडक निर्माणको ठेक्का पाएको आशिष निर्माण सेवाले गुणस्तरहीन सडक निर्माण गरेको कारणले रोकिएको स्थानमा टिपर भासिएको स्थानियले बताएका छन् ।

१० मिटरको चौडाइ रहेको उक्त सडकमा बालुवा बोकेको को १ क ३१७२ नम्बरको टिपर भासिएको हो । भासिएको टिपर सोमबार राति महानगरपालिकाले डोजर प्रयोग गरेर निकालेको थियो ।

निर्माण कम्पनीको चरम लापरबाही र गुणस्तरहीन कामले गर्दा टिपर भासिएको विराटनगर १० का सन्तोष दासले बताउनुभयो ।

विराटनगर १० मा सबैभन्दा बढी क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत सडक निर्माण भइरहेको छ । साना ठूला गरी १ सय ३ वटा सडक रहेको सो वडाको अधिकाशं सडकको निर्माण ठेक्का आशिष निर्माण सेवाले गरेको विराटनगर १० का वडाअध्यक्ष माधवराज वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना अन्तर्गत संचालन भएको ९५ प्रतिशत सडक निर्माण कार्य पुरा भएको गरेको बताउनुभयो । निर्माण कम्पनीको सम्झौता अवधि बाँकी नै भएकोले भत्किएको सडक निर्माण कम्पनीले मर्मत गर्न थालेको वडाध्यक्ष वाग्लेले जानकारी दिनुभएको छ ।

यता आशिष निर्माण सेवाका इन्जिनियर रविन्द्र कुमार ठाकुरले पुराना खानेपानीको पाइप जमिन मुनी देखिएकोले प्राविधिक क्रुटी भएकोले यस्तो समस्या आएको बताउनुभयो । पानीको लेयरले गर्दा समस्या देखिएको र समस्या भएको ठाउँमा मर्मत गर्न थालेको उहाँले बताउनुभयो ।

मङ्गलबार, १६ असार, २०७७, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर