डुब्ने र बग्नेको संख्या बढ्दो

प्रदेश १ मा ०७६ साउनयताको अवधिमा मात्र ३८ जनाको खोलामा आएको बाढी र पानीमा डुबेर मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – २ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखी अचानक घरबाट निस्किएका बृद्ध सोमबार बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

१२ असारमा मोरङको रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भयो । बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको थियो ।

यसैगरी १२ असारमा विराटनगर १८ आइसपी अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भयो । पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो ।

माथि उल्लेखित घटना प्रतिनिधी मुलक हुन् । वर्षायाम सुरू भएयता बाढी र जमेको पानीमा डुबेर प्रदेश १ मा ८ जनाको मृत्यु हुने भएको छ । असार १ देखि १५ गतेसम्म प्रदेश १ मा ८ जनाले ज्यान गुमाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा चालु आर्थिक वर्षको असार १४ गतेसम्म मात्र ३८ जनाको खोलामा आएको बाढी र पानीमा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक थापाले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश १ को विभिन्न ९८ स्थानमा भएको बाढी र पहिरोमा परि ४४ जनाको मृत्यु भएको बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५/०७६ मा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षमा २ सय ९८ स्थानमा गएको बाढी र पहिरोमा परि ३४ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्गमा देखिएको हो । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा पहिरो र ढुवानमा परि मृत्यु हुनेको संख्या घटेको भए पनि चालु आर्थिक वर्षमा बाढी र जमेको पानीमा डुबेर मृत्यु हुनेको संख्या वृद्धी हुने देखिएको छ ।

चालु आर्थिक वर्षको असार १४ गतेसम्म खोलाले बगाएर, डुबेर मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । जुन आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा चार जना बढी देखिएको हो । चालु आर्थिक वर्षको अझै १५ दिन बाँकी भएकोले यो संख्या बढ्ने अनुमान गरिएको छ ।

मङ्गलबार, १६ असार, २०७७, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर