विराटनगर । जननेता मदन भण्डारीको ६९ औं जन्म जयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी नेकपा मोरङ जिल्ला कमिटीले आइतबार जिल्लाका दुई स्थानमा वृहद् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाले रतुवामाई नगरपालिका स्थित इटहरामा व्यापक जनसहभागितामा करिव ५ बिघा क्षेत्रफलमा वृक्षारोपण गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विजयकुमार विश्वास लगायत पार्टीको केन्द्रीय नेताहरुको उपस्थितीमा खालीपर्ति जमिनमा हजारौं बिरुवा रोपिएको थियो ।
जननेता मदन भण्डारीको जन्म दिनकै अवसर पारेर संघीय सरकारले अघिल्लो वर्षदेखि हरेक असार १४ गतेका दिन राष्ट्रिय वृक्षारोपण दिवश मनाउन थालेको हो । सरकारको राष्ट्रिय अभियानलाईसमेत सहयोग पुग्ने गरी जिल्ला पार्टीले वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन जनपरिचालन गरेको हो ।
नेकपा मोरङले आइतबार रतुवामाई नगरपालिका पछि अपरान्ह मोरङको बेलबारी भाउन्नेस्थित चिसाङ खोला किनारको सिंहदेवी सामुदायिक वन क्षेत्रमा पनि वृहद् वृक्षारोपण गरेको थियो । सो कार्यक्रममा पनि मन्त्री कार्कीसहितको टोली सहभागी भएको थियो ।
कार्यक्रमका सन्दर्भमा संक्षिप्त सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले वातावरणीय सन्तुलन कायम गर्न र नेपाललाई काठजन्य वस्तुको उत्पादन र फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन वृहद् वृक्षारोपण गरेको बताउनुभयो । उहाँले जननेता मदन भण्डारीको नविन बिचारका कारण प्रगतिशिल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्ने र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै उहाँको योगदानको स्मरणका लागि पनि यो कार्यक्रम सान्दर्भिक रहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा राज्यमन्त्री विजय विश्वासले राष्ट्रिय वृक्षारोपण दिवश र जननेता मदन भण्डारीको जन्मजयन्ति एकै दिन हुनुको कारणले पनि अभियान जनस्तरमा विस्तार गर्न महत्वपूर्ण सहयोग मिलेको बताउनुभयो । उहाँले सरकारले हरियाली प्रवद्र्धन, वन र पर्यावरणको संरक्षणका लागि वृक्षारोपणलाई महत्व दिएको बताउनुभयो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे लगायतको पनि सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, जिल्ला इन्चार्ज घनेन्द्र बस्नेत, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती सुशिल प्रचार विभाग प्रमुख मणी दहालसमेतको उपस्थिति थियो ।