विराटनगर । मोरङको कानेपोखरीस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब साढे ८ बजे स्कारपिओ गाडीको ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रकुमार गुरुङ र झापा बुद्धशान्ति गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनामा परी पैदलयात्री अन्दाजी ४५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको थियो । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।
मृत्यु भएका गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनापछि स्कोरपिओका चालक सुनसरी इटहरीका ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।