विराटनगर । मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्लाव्यापी रुपमा बृहत वृक्षारोपण गरिने भएको छ ।
जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका साथ बृहतरुपमा बृक्षारोपण गर्ने भएको हो ।
मंगलबार नेकपा मोरङ पार्टी कार्यालय पाञ्चालीमा बसेको जिल्ला कार्यालय बैठकले आगामी असार १४ गते मदन जयन्तीको अवसर पारेर जिल्लाका सबै नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुलाई अनिवार्य रुपमा बृक्षारोपण गर्न आब्हान गर्ने निर्णय गरेको हो । जिल्लाका रतुवामाई र बेलबारी नगरपालिकामा आयोजना गरिएको बृक्षारोपणमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश सरकारका मन्त्री तथा सांसदहरुसमेत सहभागी हुने नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
रतुवामाईको सातमेडी र झुनाबारी क्षेत्र अन्तर्गत रतुवा नदीको बगरमा र बेलबारीको वडा नं. ८ मा गरिने बृक्षारोपणमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सांसद, पार्टीका शिर्षस्थ नेता, कार्यकर्ता एवं स्थानीय सवै पार्टी सदस्यहरुको सहभागिता रहने जनाइएको छ । नेकपा मोरङको कार्यालय बैठकले जिल्लाका अन्य १५ वटै पालिकाहरुमा स्थानीय पार्टी कमिटीको नेतृत्वमा जिल्लाभारीका सबै पार्टी सदस्यहरुलाई अनिवार्य रुपमा कम्तीमा एउटा भएपनि विरुवा रोप्न आब्हान गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।