प्रदेशसभामा मन्त्री कार्कीले दिएको जानकारी झुटो

विराटनगर । प्रदेश १ सरकारले पीसीआर परीक्षणको दायरा बढाएको भन्दै भन्दै प्रदेशसभामा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गलत जानकारी दिएको पाइएको छ ।

प्रदेशसभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मंगलबार पीसीआर परीक्षणको दायरा बढाएर दैनिक १ हजारदेखि १ हजार २ सय जनाको स्वाब परीक्षण भइरहेको बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सयदेखि ६ सय, कोसी अस्पतालमा २ सय ५० देखि ३ सय र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २ सय ५० देखि ३ सय जनाको स्वाब परीक्षण भइरहेको मन्त्री कार्कीको भनाइ थियो । मन्त्री कार्कीले दैनिक १२ सयको परीक्षण भइरहेको जानकारी प्रदेशसभामा दिएको भएपनि प्रदेश सरकारले नै दिएको तथ्यांकमा त्यसको आधा मात्र परिक्षण भइरहेको देखिन्छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयले हरेक दिन साँझ पीसीआर परीक्षणलगायत कोभिड–१९ सम्बन्धी आधिकारिक जानकारी दिने गरेको छ । कार्यालयको तथ्यांकअनुसार मन्त्री कार्कीले जानकारी दिएको दिन मंगलबार प्रदेश १ मा ६३९ जनाको परीक्षण भएको छ । जसमा २० जना पोजेटिभ र ६१९ जना नेगेटिभ देखिएको छ ।

प्रदेशमा सोमबार ५५९ जनाको परीक्षण भएको छ भने आइतबार ५५७ जनाको परीक्षण भएको छ । आइतबार र सोमबार गरिएको परीक्षणमा १५/१५ जनामा कोरोना देखिएको थियो । यस्तै शनिबार ४३७ जनाको परीक्षण भएकोमा ११ जनामा कोरोना पुष्टि भएको तथ्यांकले देखाएको छ ।

https://www.facebook.com/hamromat1/videos/739162566838692/

सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयको तथ्यांक अनुसार मंगलबारसम्म प्रदेशभरी १८ हजार ७०७ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ४८३ जनाको पोजेटिभ र १८ हजार २२४ जनाको नेगेटिभ नतिजा आएको छ । तर, प्रदेशसभामा जानकारी दिने क्रममा मन्त्री कार्कीले १९ हजार ५८७ जनाको पिसिआर परीक्षण भएको जानकारी दिनुभएको थियो । प्रदेश सरकारको तथ्यांक अनुसार १९ हजार ९८४ जनाको मंगलबारसम्म नमुना संकलन भएको छ ।

प्रदेशमा कोरोनाबारेको तथ्यांक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिब भरतमणि रिजालको हस्ताक्षरमा हरेक दिन सार्वजनिक हुने गरेको छ । सो तथ्यांकभन्दा फरक जानकारी सरकारका प्रवक्ताले प्रदेशसभामा दिएपछि कुन आधिकारिक हो भन्ने अन्यौल देखिएको छ ।

परीक्षणको लागि संकलन गरिएको नमुना र परिक्षण गरिएको संख्या जोडेर दैनिक १२ सयसम्म परीक्षण भइरहेको दावी मन्त्री कार्कीले गरेको देखिएको छ । जबकी सामन्यतय अघिल्लो दिन संकलन गरिएको नमुना भोलिपल्ट प्रयोगशालामा परीक्षण हुने गरेको छ ।

प्रदेश सरकारले चीनबाट प्राप्त भएका २ वटा पिसिआर मेसिन स्थापना गरिसकेको छैन । एउटा मेसिन झापाको भद्रपुरस्थित मेची अस्पतालमा स्थापना गर्ने तयारी भएपनि अर्को मेसिन स्थापना गर्ने स्थानसमेत तय भइसकेको छैन । दुई मेसिन स्थापना भएपछि भने प्रदेशमा दैनिक एक हजार नमुना परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले प्रयोगशालाको क्षमता अनुसार परीक्षण भइरहेको जानकारी दिँदै प्रदेश सरकारले ल्याएको प्रयोगशाला झापामा स्थापना भएपछि परीक्षण बढ्ने बताउनुभयो ।

बुधबार, १० असार, २०७७, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर