विराटनगर । २ मिनेट बसिकन प्रदेश १ को आजको दोस्रो प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसले उठेर विरोध गरेका कारण भोली (मंगलबार १ बजे)सम्मका लागि बैठक स्थगित भएको हो ।
कांग्रेसले काठमाडौंबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकको विरोध गर्दै प्रदेशसभा अवरुद्ध गरेको हो । प्रतिपक्षीले राखेको मागको विषयमा सरकारको ध्यानाकर्षण गराएको र जवाफ दिन आग्रह गरिसकेको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले गरेको आग्रह गरेपनि कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए । यस्तै कांग्रेसले प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोलगायतका विषय पनि उठाएको छ ।
आजै बसेको पहिलो बैठकमा सोही एजेण्डा राखेर कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । बैठक अवरुद्ध भएपछि संसदमा बोल्न समय पाएका कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौं जानु पर्दा नाकाबाट मानिसलाई किन फर्काइयो भन्दै प्रश्न गर्नुभयो ।
‘काठमाडौं मुटु भनेर मान्यौं, राजधानी भन्यौं तर काठमाडौंबाट जो पनि सीडीओको पासमा आउन सक्छ । तर, काठमाडौं जान के–को रोक । अब काठमाडौंलाई नाकाबन्दी गर्ने अभियान छ । किन प्रदेश सरकार बोल्न सक्दैन ?’ कार्कीले भन्नुभयो, ‘प्रदेश सरकारले यसबारे जानकारी दिनुपर्छ ।’
कार्कीले प्रदेश १ सरकारले पीसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने माग पनि गर्नुभएको थियो ।