ओखलढुंगामा पनि कोरोना, प्रदेश १ का सबै जिल्लामा संक्रमण

विराटनगर । ओखलढुंगामा पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ का सबै १४ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो ।

उनी एक हप्ताअघि जिल्ला आएका हुन् । आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित व्यक्ति भारतको गोरखपुरमा मजदुरी गर्दै आएका र जेठ ३० झापाको नाकाबाट नेपाल प्रवेश गरेको बताइएको छ । संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश १ मा यसअघि ४४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये २३४ जना उपचारपछि घर फर्किएका छन् ।

सोमबार, ०८ असार, २०७७, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर