लकडाउन खुकुलो, विराटनगरको व्यापार सुध्रिएन

विराटनगर / लामो समयपछिको लकडाउन सहज हुँदै गएपनि विराटनगरका व्यापार व्यावसाय सहज रुपमा सञ्चालन हुन सकेको छैन । लकडाउनको मारमा परेका व्यापार–व्यवसाय उपभोक्ताको क्रयशक्ति कमजोर हुन पुगेपछि सहज रुपमा सञ्चालन हुन नसकेका हुन ।

कोरोना भाईरसको सम्भावित जोखिम न्युनीकरणका निम्त्ति गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण व्यापारीहरुको हालत ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’ झैं भएको छ । लकडाउन खुकुलो भएपनि यसले लत्ताकपडा, जुत्ताचप्पल, ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स, सुनचाँदी जस्ता व्यावसायलाई ‘पीडित’ बनाएको छ । लामो समयदेखि विराटनगरमा रहेर राठीको सुन पसल सञ्चालन गर्दै आउनुभएका जुगलकिशोर राठीले हाल विगतको तुलनामा १० प्रतिशत मात्र व्यापार भइरहेको बताउनुभयो । लकडाउनअघि प्रतितोला ७७ हजार रहेको सुनको मूल्य ८९ हजारमाथि पुग्दा बिक्री ठप्प भएको उहाँको भनाई छ । लकडाउनका कारण विवाह, ब्रतबन्ध, पार्टी र सेमिनार लगायतका सभा समारोह नभएपछि व्यापार स्वतः घटेको हो।

जुगल किशोर राठी (सुनचाँदी व्यावसायी)

लकडाउनले गर्दा आयातनिर्यात समेत प्रभावित भएको र बजारमा उपभोक्ताको संख्या पनि कम भएको अम्बिका वस्त्रालयका सञ्चालक प्रदिप अग्रवाल र थापा फैन्सी स्टोरका सञ्चालक अमर थापाको भनाई छ । लकडाउन अवधिभरको कर, घरभाडा, विधुत महशुल र कर्मचारीको तलब धान्न पनि नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अमर थापा (कपडा व्यावसायी)
प्रदिप अग्रवाल (कपडा व्यावसायी)

सार्वजनिक यातायात बन्द भएको र उपभोक्ता पनि बेरोजगार हुँदा क्रयशक्ति घटेकोले बजारमा चहलपहल कम रहेको व्यापारीहरु बताउँछन। विराटनगरका ईलेक्ट्रीक पसल सञ्चालक उकेश अग्रवालले व्यावसाय झण्डै–झण्डै टाट पल्टने अवस्थामा पुगिसकेको बताउनुभयो । तुलनात्मक रुपमा ७५ प्रतिशतले व्यापार खस्किएको उहाँको भनाई छ ।

उकेश अग्रवाल (ईलेक्ट्रिक पसल सञ्चालक)

लकडाउनको वैकल्पिक समाधान निकाल्दै सरकारले उपभोक्ता र व्यापारीहरुबीच सामाजिक र भौतिक दुरी कायम गरि असार १ गतेबाट व्यापार व्यावसाय सञ्चालन गर्न दिने अनुमति दिएको छ । तर, विगत ३ महिनाको अवधिमा भएको हानी, नोक्सानी र घाटा सजिलै व्यहोर्न नसकिने अवस्था रहेको व्यापारी बताउँछन् । सरकारले बैंकको ब्याज, कर, घरभाडा र विद्युत महशुलमा छुट दिईनुपर्ने व्यापारीहरुको माग छ । तर, हालसम्म उक्त मागहरु सम्बोधन हुन नसक्दा व्यापार व्यावसाय नै ठप्प हुने अवस्थामा पुगेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताउनुभयो । विराट व्यापार संघको नेतृत्वमा १० वटा संस्थाले स्थानीय सरकारदेखि संघीय सरकारसम्म र सम्पूर्ण सरोकारवाला निकायहरुलाई निरन्तर ज्ञापनपत्र बुझाएका छन् ।

सुजन थापा (अध्यक्ष, विराट व्यापार संघ)

तर, माग सम्बोधन नहुँदा लकडाउन खुकुलो भएपनि व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था नरहेको अध्यक्ष थापाको भनाई छ । आगामी आर्थिक बर्षको बजेटले पनि आफुहरुको मागलाई ‘ईगनोर’ गरेको उहाँले गुनासो गर्नुभयो ।

आइतबार, ०७ असार, २०७७, बिहानको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर