धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन्।
अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्गबहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका हुन्।
गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको उनीहरुको भनाइ छ। बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका दरले रकम पठाउने र बाँकी काम गाउँपालिकास्तरीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो।
वडाध्यक्षहरुले वडामा कम्तीमा ४० लाखका दरले बजेट विनियोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको वडा–५ का अध्यक्ष बस्नेतले बताउनुभयो। १० वटा वडा रहेको गाउँपालिकामा ४ मा जनता समाजवादी, वडा नं ५ र ६ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अन्य ७ वटा वडामा तत्कालीन एमालेले जितेको थियो। आन्दोलनरत वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुझाएलगत्तै ताला लगाएका हुन्।
ताला लगाएको करिब आधा घण्टामा स्थानीय प्रशासनले उनीहरुले लगाएको ताला तोडेर काम सुचारु गरेको थियो। असन्तुष्ट वडाध्यक्षहरुले छलफलको माध्यमबाट समस्या समाधानका लागि गाउँपालिकासँग सहकार्य गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष राईले बताउनुभयो।
गएका वर्षमा गाउँपालिकाले ५० लाखका दरले बजेट पठाए पनि यो वर्ष कोरोना रोकथामका लागि गाउँपालिकाले सबै वडामा विभिन्न काम गर्नुपर्ने भएकाले बजेट कटौती गर्नुपरेको गाउँपालिकाको भनाइ छ ।