स्थानीय तहलाई समानुपातिक अनुदान वितरण

सुर्योदय नगरपालिकाले पायो सबैभन्दा धेरै

विराटनगर । प्रदेश सरकारले स्थानीय तहहरुका लागि समानुपातिक ढंगबाट अनुदान रकम बाँडफाँड गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत स्थानीय तहहरुलाई २ अर्ब ८७ करोड ४२ लाख ४५ हजार रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत अनुदान बाँडफाँड गरेको हो ।

प्रदेश सरकारले १३७ स्थानीय तहलाई न्यूनतम १ करोड ६४ लाख रुपैयाँदेखि बढीमा १३ करोड रुपैयाँबराबरको अनुदान बाँडफाँड गरेको छ ।

प्रदेश सरकारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले १ करोड ६४ लाख २१ हजार अनुदान प्राप्त गर्ने भएको छ भने सबैभन्दा बढी इलामको सुर्योदय नगरपालिकाले १३ करोड ९१ लाख ५७ हजार रुपैयाँ अनुदान पाउनेछ । सुर्योदय नगरपालिकाले सशर्त अनुदान वापत १२ करोड १४ लाख ६ हजार रुपैयाँ प्राप्त गरेको छ । चियाखेती विस्तार र प्रवद्धर्नका लागि प्रदेश सरकारले विशेष योजना अगाडि सारेका कारण सुर्योदय नगरपालिकाले वित्तीय हस्तान्तरण अन्तरगत बढी रकम प्राप्त गरेको हो ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त र समपुरक अनुदान रकम स्थानीय तहहरुलाई बाँडफाँड गर्ने गरेको छ । मोरङका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाले ५ करोड १६ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ भने सबैभन्दा कम ग्रामथान गाउँपालिका र लेटाङ नगरपालिकाले १ करोड ७२ लाख रुपैयाँका दरले पाउनेछन् ।

प्रदेश सरकारबाट उर्लाबारी नगरपालिकाले २ करोड ३ लाख ३९ हजार, पथरी शनिश्चरे नगरपालिकाले १ करोड ९७ लाख ५६ हजार, बेलबारी नगरपालिकाले २ करोड ८ लाख ७५ हजार, रंगेली नगरपालिकाले २ करोड ५९ लाख ९४ हजार, रतुवामाई नगरपालिकाले २ करोड ८ लाख ४ हजार, सुनवर्षी नगरपालिकाले २ करोड १ लाख ४५ हजार, सुन्दरहरैंचा नगरपालिकाले २ करोड १४ लाख, कटहरी गाउँपालिकाले १ करोड ९३ लाख ४२ हजार, कानेपोखरी गाउँपालिकाले १ करोड ७४ लाख ९५ हजार अनुदान पाउनेछन् । यसैगरी केराबारी गाउँपालिकाले १ करोड ९६ लाख ४ हजार, जहदा गाउँपालिकाले १ करोड ९५ लाख १५ हजार, धनपालथान गाउँपालिकाले १ करोड ९३ लाख ७८ हजार, बुढीगंगा गाउँपालिकाले १ करोड ९६ लाख २५ हजार रुपैयाँ र मिक्लाजुङ्ग गाउँपालिकाले १ करोड ९० लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

प्रदेश सरकारले उपलव्ध गराएको अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गतको रकम समावेश गरेर स्थानीय तहहरुले असार १० गतेभित्र बजेट तयार गर्नेछन् । प्रदेश सरकारले झापा जिल्लाका स्थानीय तहहरुलाई ३१ करोड ७३ लाख ६५ हजार, मोरङमा ३६ करोड ९५ लाख ११ हजार, सुनसरीमा २४ करोड ७५ लाख ६७ हजार, ताप्लेजुङ्गमा १५ करोड ९२ लाख १४ हजार, पाँचथरमा १६ करोड १४ लाख ९ हजार, इलाममा ३० करोड ५७ लाख ८६ हजार रुपैयाँ अनुदान रकम पठाउने भएको छ ।
संखुवासभा जिल्लाका स्थानीय तहहरुमा १९ करोड ६० लाख ११ हजार, तेह्रथुममा १० करोड ७४ लाख ५ हजार, धनकुटामा १४ करोड ४४ लाख ९६ हजार रुपैयाँ, भोजपुरमा २० करोड ७४ लाख ७३ हजार रुपैयाँ अनुदान बाँडफाँड भएको छ । खोटाङमा २० करोड ७६ लाख ४३ हजार, सोलुखुम्बुमा १४ करोड १९ लाख ९७ हजार, ओखलढुंगामा १९ करोड १९ लाख ९० हजार, उदयपुरमा १६ करोड ६३ लाख ७८ हजार, सुनसरीमा २४ करोड ७५ लाख ६७ हजार रुपैयाँ बाँडफाँड भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बिहिबार, ०४ असार, २०७७, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर