मंगलबारेमा निर्माण हुने ट्रमा सेन्टर नेपालकै दोस्रो सुविधा सम्पन्न हुने

उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको उद्घोष गर्नुभएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका अध्यक्षसमेत रहनुभएका बरालले मंगलबारे अस्पताललाई स्तरोन्नति गरेर निर्माण हुन लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर प्रतिष्ठान मातहत नरहने समेत उद्घोष गर्नुभएको हो ।

नेकपा उर्लाबारीले आज आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता बरालले मंगलबारेमा हाल घेराबेरा गरिएको प्रतिष्ठानको जग्गामा आगामी आर्थिक वर्षबाट प्रोधोगिक महाविद्यालय स्थापना हुने बताउनुभयो ।

जननेता मदन भण्डारीको कर्मथलोको रुपमा परिचित यस क्षेत्रमा निर्माण हुने देशको दोस्रो ट्रमा सेन्टर गौरवको आयोजना गरेहकाले यसको सफल कार्यान्वयनका लागि पनि मदन भण्डारीको नाम जोडिएको बताउनुभयो । उहाँले मदन भण्डारीको नाम जोडिँदैमा मदन भण्डारी स्मृति प्रतिष्ठानले सो अस्पताल संचालन नगर्ने स्पष्ट पनि पार्नुभयो । उहाँले अस्पताल प्रदेश सरकार मातहत रहने बताउनुभयो ।

प्रतिष्ठानले प्राविधिक शिक्षाका संरचना र कार्यक्रम सुरवात गरेर मंगलबारेलाई प्रदेश नं. १ मै शिक्षाको नयाँ हब बनाउने योजनाका साथ लागि परेको उहाँको भनाइ छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले राँको बालेर, ढुंगामुढा गरेर केही नहुने बताउँदै मंगलबारेमा जसरी भएपनि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनेरै छाड्ने उद्घोष गर्नुभयो ।

ट्रमा सेन्टर निर्माण हुँदा मंगलबारेको पहिचान हराउने भन्दा झनै थपिने उहाँले उल्लेख गर्नुभयो । फलानो चिन्हमा भोट हाल्दा निःशुल्क उपचार गरिदिन्छु भन्ने प्रबृत्तिको अन्त्यका लागि पनि मंगलबारेमा अस्पताल तथा ट्रमा सेन्टर निर्माण भएरै छाडन्े अध्यक्ष पोखरेलले बताउनुभयो । स्वास्थ्य व्यापारलाई निमिट्यान्न पार्न मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेकपा मोरङका सचिव गणेश उप्रेतीले पूर्वका नीजि अस्पतालको लुट अन्त्यका लागि मंगलबारेमा ट्रमा सेन्टर आवश्यक रहेको बताउनुभयो । मंगलबारेमा निर्माण हुन लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सरकारी अस्पतालकै रुपमा संचालन हुने बताउँदै उहाँले प्रतिष्ठानको शाखा नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका डा. प्रमोद बरालले ट्रमा सेन्टरको महत्व र यसको विषयमा प्रकाश पार्नुभएको थियो । मंगलबारेमा निर्माण हुने ट्रमा सेन्टर बिर अस्पतालपछि नेपालकै दोश्रो हुने बताउनुभयो । विशेषगरी दुर्घटना र चोटपटकबाट बचाउनका लागि ट्रमा सेन्टर आवश्यक हुने बताउँदै उहाँले अन्य प्रसूती, बाल, मुटुर, मृगौला, दन्त, आँखालगायतको रोगका विरामीले पनि सेवा पाउने बताउनुभयो । कार्यक्रममा डा. मोहन खड्काले पनि ट्रमा सेन्टरको फाईदाका विषयमा प्रष्ट पार्नुभएको थियो ।

मङ्गलबार, ०२ असार, २०७७, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर