सरकार विरोधी आन्दोलनमा सहभागी विदेशी पक्राउ

काठमाडौं । माइतीघर मण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा सात जना विदेशी नागरिक पक्राउ परेका छन् ।

प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघर मण्डलबाट शनिबार नियन्त्रणमा लिएको महानगरी प्रहरी बृत्तले जनाएको छ ।

पक्राउ पर्नेमा एक क्यानेडियन, तीन चिनियाँ, एक अस्ट्रेलियन, एक अमेरिकन र एक नर्वेजियन नागरिक छन्। ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहँदा त्यसमा विदेशी नागरिक पनि सहभागी भएको पाइएको हो ।

प्रदर्शन सुरु हुनेबेलैमा प्रहरीले आन्दोलनको आयोजकमध्येको एक समूह ‘इनफ इज इनफ’का इशानलाई पक्राउ गरेको छ । केही दिनदेखि काठमाडौंसहित विभिन्न शहरमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।

शनिबार, ३१ जेठ, २०७७, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर