प्रदेश १ मा आयातित संक्रमित मात्रै

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश नं. १ का सबै जिल्लामा कोरोना सङ्क्रमण नदेखिएको बताउनु भएको छ ।

सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रदेश नं. १ मा आयातित सङ्क्रमणहरु देखा परेको जिकिर पनि गर्नुभयो ।

उहाँले प्रदेश सरकारका लागि उदयपुरको भुल्के सिकाईको थलो बनेको उल्लेख गर्नुभयो । भुल्केमा कोरोना सङक्रमित भेटिएपछि नै प्रदेश सरकारले ‘थ्री टी’ अर्थात टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम सुरु गरेको जानकारी दिनुभयो । हाल उदयपुरको भुल्के पुर्ण रुपमा कोरोनामुक्त भईसकेको मन्त्री घिमिरेको भनाइ छ ।

पत्रकार सम्मेलनमा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरुको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहत्ताले प्रदेश नं. १ मा सबैभन्दा बढी युवा उमेर समूहमा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बिशेष गरी २० देखि ३० बर्ष उमेर समूहका १ सय १६ जना युवाहरुमा कोरोना सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सबैभन्दा कम ६० बर्ष माथिका १ जना र १० बर्षमुनिका २ जना बालबालिकामा कोरोना सङक्रमण पुष्टि भएको डाक्टर मेहत्ताको भनाइ छ । हाल प्रदेश नं. १ मा भने १८ जना महिलासहित २ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भईसकेको छ । आज मात्रै थपिएका १४ जना कोरोना सङ्क्रमितहरु मध्ये ८ जना मोरङका, ५ जना झापाका र १ जना उदयपुरका हुन् ।

हालसम्म प्रदेश नं. १ मा सङ्क्रमण पुष्टि भएकाहरुमध्ये १ सय २४ जना निको भईसकेका छन्, भने १ सय ५९ जना आइशोलेशनमा राखिएको छ ।

बुधबार, २८ जेठ, २०७७, रातीको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर