काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सांसद सरिता गिरीलाई संविधान संशोधन विरुद्धको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।
लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएकी गिरीलाई पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको हो ।
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । बिधेयक दर्ता गराएसँगै चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।
संविधानको दोस्रो संशोधनमा संसदीय दलका निर्देशनविना नै संशोधन हालेकोले तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो ।
सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छन् । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरोको थियो ।