विराटनगर । प्रदेश नं. १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरेको छ ।
कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो ।
तथ्यांक संकलन गर्ने कामको मंगलबार मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभयो । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । तथ्यांक फारम https://helpline.p1.gov.np/ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ ।
फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको शीपलाई प्रदेशको विकासमा लगाउन तथ्यांक संकलन थालेको उहाँको भनाइ छ । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने सरकारको अपेक्षा छ ।
तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताउनुभयो । तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने तयारी छ ।
यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावलीसमेत राखिएको छ ।
््