धरान । सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट मंगलबार २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।
पछिल्लो पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो।
डिस्चार्ज हुने सबै झापाको कचनकबल गाउँपालिकाका हुन्। उनीहरू १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन्। प्रतिष्ठानमा अव ५५ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।
बीपीमा पहिलो पटक १८ जना डिस्चार्ज भएका थिए । दोस्रो पटक ३ जना र तेस्रो पटक १२ जना डिस्चार्ज भइसकेका छन् । बीपीले ५ हजार ५१४ जनाको पीसीआर परीक्षण गरेकोमा १४६ जना कोरोना संक्रमित देखिएका छन् ।
मंगलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ । यस्तै प्रदेशमा संक्रमितको संख्या २७७ छ ।
कोरोना पुष्टि भएकाहरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।