विराटनगर । प्रदेश नं. १ मा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् ।
विराटनगर महानगरपालिका ३ की २२ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी केहि दिन अगाडि भारतबाट आएकी हुन् ।
यसैगरी सुनसरीको इनरुवाका २३ र २६ बर्षीय पुरुष, मोरङको रतुवामाई २ का १८ र १४ बर्षका दुई किशोर र उदयपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरमा कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिका ३६ वर्षीय पुरुष र २७ वर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ वर्षीय पुरुष रहेका छन् ।
यस्तै झापाको अर्जुनधारा नगरपालिका २ का २३ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ भने उपचारपछि ९० जना घर फर्किएका छन् ।
अहिलेसम्म झापामा १ सय ३८, मोरङमा १९, सुनसरीमा ४१, धनकुटामा ८, तेह्रथुममा २, संखुवासभामा २, भोजपुरमा ६, खोटाङमा ४ , सोलुखुम्बुमा १ र उदयपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशमा आइतबारसम्म ११ हजार २५४ जनाको पिसिआर र १३ हजार ३३९ जनाको आरडिटी बिधिबाट कोरोना परीक्षण गरिएको छ । प्रदेशमा आइतबार ४११२ जना क्वारेन्टाइनमा बसेका छन् भने होल्डिङ एरियामा ६७५ जनालाई राखिएको छ । यस्तै ९५७० जना होम क्वारेन्टाइनमा रहेको प्रदेश सरकारको कोरोना सूचना डेस्कले जनाएको छ ।